एस एस बी ले राेक्याे नेपाली निर्माणः काम ठप्प

45

२२ मंसीर, नवलपरासी
वृजराज कुशवाहा

नेपालले निर्माण गर्दै गरेको हुलाकी सडककाे काम भारतीय अर्धसैनिक बल एस एस बी ले आज नवलपरासीमा रोकेको छ । निर्माण कार्य रोकिएपछि १० किलो मिटर लामो कठहवा बेलाटारी कालोपत्रे सडकको निर्माण कार्य ठप्प भएको छ ।
रु. २२ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनी कन्टेक प्रा. लि. काठमाण्डौले सो सडकको निर्माण कार्य भारतीय सीमाबाट शुरु गरेको थियो । नवलपरासीको प्रतापपुर गाउंपालिकाको वडा नं. ६ कठहवामा बनाउन थालिएको कल्भर्ट नै दशगजा क्षेत्र (नो मेन्स लैण्ड एरिया) मा बन्न थालेको भन्दै एस एस बी ले आज दिउंसो काम रोकेको कम्पनीका प्रतिनिधि दीपक थापाले बताए ।
उनले भने, हामी काम शुरू गर्दा एसएसबी सित समन्वय गरेका थियाैं तर अहिले सरूवा भइ अाएका नया अधिकारीले काम राेकेकाे बताए ।

काम रोकिएपछि मजदुर सहित ठेकेदार कम्पनीले काम बन्द गर्नु परेको छ । काम रोकिदा १० किलो मिटर लामो हुलाकी सम्पर्क मार्गको निर्माण प्रभावित भएको छ । भारतीय अर्धसैनकि बल एस एस बी ले अाजै झिकाएको भारतीय अमिनले नापी गर्दा दशगजाको साढे ६ फिट जग्गा कल्भर्टले मिचिएको दावी गरेको छ । निर्माणाधिन कल्भर्ट भत्काउन र नाप नक्सा गराएर नेपाली भुभागमा मात्र निर्माण कार्य गर्नुपर्ने एस एस बी को भनाइ छ । विवाद समाधान नभएसम्म काम गर्न नहुने चेतावनी समेत दिएकाे छ ।


भारत उत्तर प्रदेशको महराजगन्ज जिल्लाको झुलनीपुरमा रहेको एस एस बी को ११औं बिअाेपीका प्रमुख सई. अमिताभ मिस्त्रीले नेपाली निर्माण नोमेन्स लैण्ड एरयिामा भइरहेको खबर पाएपछि नेपाललाइ सच्याउन आग्रह गरेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले सडकको निर्माण कार्य रोकिएको खबर आउना साथ पहल शुरु गरएिको बताउनु हुंदै चांडै नै यसको समाधान खोजिने बताउनु भएको छ ।