
बर्दघाट, ५ असार २०८३ ।
पश्चिम नवलपरासीको बर्दघाटमा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा असार ७ गते बृहद् योग शिविर सञ्चालन हुने भएको छ। शिविरको तयारीबारे जानकारी दिन त्रिनेत्र बुद्ध मङ्गल योग समिति जिमिरेभार, पश्चिम नवलपरासीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएकाे हो ।
समितिका अध्यक्ष नरेश पँगेनीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै, नगर प्रमुख श्रेष्ठले आगामी माघ १ गते बर्दघाट नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्ने लक्ष्यसहित विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।
नगरपालिका क्षेत्रभित्र दीर्घरोगीको संख्या बढ्दै गएको, अस्वस्थ खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण विभिन्न रोगको समस्या देखिएको अवस्थामा योग नै स्वास्थ्य जीवनको उत्तम विकल्प रहेको नगर प्रमुख श्रेष्ठको भनाइ थियो। भौतिक पूर्वाधार विकाससँगै स्वस्थ नगर अभियानलाई सफल बनाउन नगरपालिकाले योग क्षेत्रमा आवश्यक लगानी गर्दै आएको समेत उहाँले बताउनुभयो।
कार्यक्रममा समितिका अध्यक्ष पँगेनीले आवश्यक तयारी गरि सकेको जानकारी दिदै, असार ७ गते सञ्चालन हुने बृहद् योग शिविरलाई भव्य र सफल बनाउन सम्पूर्ण नगरवासीलाई सहभागिताका लागि आग्रह गर्नुभयो। उहाँले बर्दघाट नगरपालिकाका १० वटा वडामा १२ वटा साधना केन्द्रमार्फत नियमित योग साधना सञ्चालन भइरहेको जानकारी दिनु भयो । याेग अभियानमा बर्दघाट नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै, अध्यक्ष पँगेनीले बाँकी ६ वटा वडामा समेत साधना केन्द्र विस्तार गर्ने योजना रहेको बताउनुभयो। आगामी माघ १ गते बर्दघाट नगरपालिकालाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन समितिका सचिव प्रकाश श्रेष्ठले गर्नुभएको अप्सरा श्रेष्ठले बताउनुभयो ।















