नवलपरासी, २२ पुष ।
वि. सं. २०७९ साल साउनमा निर्माण कार्य सम्पन्न गर्ने गरि ११३ किलोमीटरको नारायणघाट बुटवल सडक खण्डलाई चारलेनमा स्तराेन्नति गर्नका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) ले २०७५ साल पुसमा ठेक्का सम्झौता भए पनि जम्मा १२ प्रतिशत काम भएकाे छ ।
- आयोजना सुरु भएको ३५ महिनाकाे समय सकिन लाग्दा जम्मा १२ प्रतिशत काम भएकाे छ ।
- ठेक्का सम्झौता अनुसार समयावधि सकिन साढे ७ महिना मात्र वाँकी छ ।
निर्माण आयोजनाको काम अलपत्र हुँदा पुर्व पश्चिम भएर यात्रा गर्ने हजारौं यात्रुले निकै दैनिक सास्ती व्यवहोर्नु परेको छ उता निर्माण ठेकेदार कम्पनी विभिन्न बहाना गरी समय गुजारेको छ । लकडाउन, कामदारहरूकाे आन्दोलन भन्दै सम्झौता भित्र निर्माण कार्य सम्पन्न नहुने निश्चित छ। जसले ठाउँ ठाउँमा सडक भत्काएर अलपत्र अवस्थामा छोड्नाले सो सडक अस्तव्यस्त वन्नुको साथै दुर्घटनाको उच्च खतरा बढेको गाडी चालकहरु बताउँछन् ।
आयोजनाको साईट क्लियर नगरी हतारमा ठेक्का सम्झौता र सडकको शिलान्यास गर्नाले लामो समय त्यसमै अल्झिनु परेकाले ढिला भएको आयोजनाका अधिकारी तथा निर्माण कम्पनीको भनाई छ। तर उनीहरु आफ्ना कारण भएको चरम ढिलाईबारे स्वीकार गर्न मान्दैनन् ।
बुटवल-नारायणगढ १ सय १३ किलोमिटर सडकलाई ४ लेनमा स्तरोन्नती गर्न सन् २०१८ को डिसेम्बरमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी)संग ठेक्का सम्भौता भएको र २०१९ को फेब्रुअरीबाट मात्रै काम शुरु भएको थियो। सम्झौता २०२२ अगस्टमा सक्नुपर्ने उल्लेख छ। तर काम भने कछुवा गतिमा अघि बढिरहेको छ ।
धुलोले सवारी र सडक छेउका बस्तीहरु धुलाम्मे बन्दै आएका छन् भने, न्यून कामदार खटाएर निर्माण कम्पनीले अहिले पुल र कल्भर्डको काम भैरहेको वताएको छ।
सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। नवलपरासी बर्दघाट-सुस्तापूर्वको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ।
कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण कार्य हु लागेको चार लेन सडक पुर्व-पश्चिम महेन्द्र राजमार्ग मेची-महाकाली जोड्ने एक मात्र सडक मानिन्छ । तर महिनौसम्म निर्माणाधीन सडक अलपत्र हुँदा आकस्मिक सेवाका एम्बुलेन्स, दमकल समेत जाममा फस्ने गरेकाले विरामीको ज्यान जाने जोखिमसंगै दमकल समेत रोकिनुपर्ने स्थिति रहेको छ।
उक्त सडक परियोजनाको दाउन्ने पश्चिमका प्रमुख इन्जिनियर प्रदीप शाक्यका अनुसार पछिल्लो समय २ खण्डमा पुल र कल्भर्डको काम भैरहेको छ। पश्चिमतर्फ ९ वटा ठूला र २ वटा साना पुल, दुवैतिर ९० वटा कल्भर्ट निर्माण जारी छ । दाउन्ने पूर्वमा पनि रुख कटान, विद्युतका पोल र खानेपानी पाइपको काम भइरहेको वताए । ईन्जिनियर शाक्यले भने,’निर्माण कम्पनीले अहिले समय थपको माग गर्दै पत्राचार गरेको छ। तर म्याद थपबारे निर्णय छैन् ।’
कुल लागतको ८५ प्रतिशत एडिबीको सहुलियत ऋण, बाँकी लागत नेपाल सरकारको हुने बताइएको छ । नेपाल सरकारलाई एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको वुझिएको छ । ट्राफिक प्रहरीका अनुसार उक्त सडक खण्डको निर्माण कार्य अस्तव्यस्त वन्दा सवारी दुर्घटनाका घटनाले ट्राफिक प्रहरीको टाउको दुखाई बनेकोछ ।





