सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

74

नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ०५ परासी स्थित जिल्ला प्रसासन कार्यालयको सभाहलमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सूचना पाउन सबै नागरिकको नैसर्गिक अधिकार भएकोले सरकारी कार्यालय वा स्थानीय तहहरुले सूचना नलुकाउन आग्रह गरे । सही सूचनाले सही समाजको निमार्ण गर्ने भएको हुँदा सम्पूर्ण सूचना प्रवाह गर्न आग्रह गरेका छन्। सूचना सबै सरकारी कार्यालय वा स्थानीय तहहरु सूचना दिनुपर्ने र सूचना अधिकारीहरूले प्रभावकारी रूपमा सूचनाको हक नीति नियमको पालन गर्नु पर्ने जोड दिएका थिए । विश्व नया प्राविधिक युगमा प्रवेश भएको हुँदा सम्पुर्ण सूचना अनलाइन र सामाजिक सञ्जाल मार्फत प्रकाशन गर्दै जनताको माझमा पुर्याउन आफ्नो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए।

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीका अध्यक्ष कैलाश ठाकुरले सूचना पाउने नागरिकको अधिकार भएकोले सही सूचना उपलब्ध गराउन कुनै कञ्जुसाई गर्न नहुने बताए ।

सेप्टेम्बर २८ सन् २००३ देखि सूचनाको हकका वकालतकर्ताहरूले सेप्टेम्बर २८ लाई ‘थाहा पाउने’ दिवसका रूपमा अन्तर्राष्ट्रियस्तरमा सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने गरेका छन्। यसै दिनदेखि सूचनाको हकको क्षेत्रमा कार्य गर्ने सूचनाको हकका वकालतकर्ताहरूको विश्वव्यापी सन्जाल पनि सञ्चालनमा छ। सूचनाको हकले नागरिकलाई सरकारको कामकारबाहीका बारेमा जान्न पाउने अधिकार प्रदान गर्छ। राज्यद्वारा सम्पादन हुने कार्यहरूको नतीजा, प्रक्रिया तथा स्रोतका बारेमा तथा कुनै पनि सार्वजनिक महत्त्वका विषयमा जान्न पाउने कुरालाई सूचनाको हक तथा थाहा पाउने अधिकारले संरक्षण गर्दछ।

रेडियो दाउन्नेका स्टेशन म्यानेजर मोहन पौडेलले सूचना माग गर्दा पनि सरकारी कार्यालय र स्थानीय तहहरु त झन् सूचना दिन नमानेको बताउँदै खोज पत्रकारिता गर्न पत्रकारलाई कठिन रहेको बताए । नागरिकले पाउनुपर्ने सूचनाको हकबाट वञ्चित गराउने गरेको पाइएको बताए । उनले भने नागरिकको सूचना पाउन अधिकार भएकोले सूचनाबाट कोही कसैलाई वञ्चित गराउन नहुने जोड दिए । सरकारी कार्यालय वा स्थानीय तहहरूले सूचना अधिकारी तोकेपनि सूचना अधिकारीहरूले काम कर्तव्य पुरा गर्न नसकेको इन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै पत्रकार रंजीत शर्माले सरकारी कार्यालय र स्थानीय तहहरूमा सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा सूचना पाउन नसकेको बताए । पत्रकार हुँदा पनि केही राजनितिक हस्तक्षेप र सुरक्षाको कमीले सूचना न पाएको बताए । धेरै सरकारी कार्यालयमा सूचना अधिकारी नामको मात्र तोकिएको सूचना पाउन निकै कठिन रहेको वताए । उनले सरकारी कार्यालय र स्थानीय तहहरूमा सूचना लुकाउने काम गरेकोले सूचना पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजनीतिक दल प्रमुख प्रतिनिधि, सुरक्षा निकाय प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीकी सहसचिव बिना चौधरीले गरेकी थिइन्।