ताेरी, आलु र गहुँ रोप्ने बेलामा रासायनिक मल नपाउँदा किसान निराश — आपूर्ति कमजोर, तस्करी र नक्कली मलको समस्या अझै उस्तै
बृजराज कुशवाहा
नवलपरासी, कात्तिक २३
देशका किसान फेरि एकपटक मल अभावको मारमा परेका छन्। ताेरी, आलु र गहुँजस्ता बाली रोप्ने समय सुरु भएसँगै आवश्यक रासायनिक मल नपाउँदा किसानलाई रोपाइँमै ढिलाइ हुने डर बढेको छ।
नवलपरासी लगायत तराईका जिल्लामा किसानको आक्रोश खुलेर देखिन थालेको छ। कतिपय किसान भारततर्फ गएर मल ल्याउने तयारीमा छन्, तर सीमा क्षेत्रमा सुरक्षाकर्मीको कडाइका कारण उनीहरू रोकिएका छन्।
देवगाउँका किसान रामपाल गिरी भन्छन्, “विगतका नेताले मलको नाममा राजनीति गरे, अहिलेका नेताले पनि त्यही गरिरहेका छन्। खेती गर्ने किसानका कुरा कसैले सुन्दैन।”
सहकारी संस्थाका अनुसार अहिले १ हजार घरपरिवारका लागि १ सय क्विन्टल मल मात्र आएको छ। “कसलाई दिने र कसलाई नदिने, यो नै ठूलो समस्या बनेको छ,” उनले बताए। “राज्यले यस्तो अवस्था सिर्जना गरेको हो कि किसान खेती गर्नै डराउन थालेका छन्।”
मल अभावसँगै नक्कली मल र तस्करीबाट आएको गुणस्तरहीन मल बजारमा फैलिँदै गएको छ। यस्तो मलले माटोको उर्वराशक्ति घटाउँछ र बाली उत्पादनमा नकारात्मक असर पार्छ भन्ने विज्ञहरूको चेतावनी छ।
यसबीच केही किसान संगठन र स्थानीय प्रतिनिधिले भारतबाट सस्तो मल ल्याउन अनुमति दिन माग गरेका छन्। तर सुरक्षा निकायले सीमापार नियन्त्रणका कारण त्यसमा कडाइ गरिरहेको छ।
मल अभावका कारण किसानमा निराशा मात्र होइन, कृषि प्रणालीमै अविश्वास बढ्दै गएको छ। मौसमले कुर्न नसक्ने खेतीपातीमा ढिलाइ हुँदै जाँदा उत्पादन घट्ने र मूल्यवृद्धिको जोखिम पनि बढेको देखिन्छ।















