काठमाडौं । कुशवाहा बुद्धिजीवी सेवा समाज, नेपाल केन्द्रीय समिति, काठमाडौंको आयोजनामा समाजको चौथो राष्ट्रिय महाधिवेशन २०८२ असार ७ गते (२१ जुन २०२५, शनिवार) भव्य रूपमा सम्पन्न भएको छ।
काठमाडौंमा सम्पन्न महाधिवेशनमा नेपाल तथा भारतका विभिन्न प्रदेशबाट सहभागी विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहा प्रमुख अतिथिका रूपमा रहनु भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र प्यासी, मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह, पूर्वमन्त्री लक्ष्मण मेहता, नेपाल कुशवाहा कल्याण समाजका संस्थापक ई. रामेश्वर प्रसाद सिंहलगायत दर्जनौं विशिष्ट अतिथिहरूको सहभागिता थियो। भारतबाट पनि अखिल भारतीय कुशवाहा महासभाका अध्यक्ष राकेश महतो, महिला महासभाकी अध्यक्ष राधा मुकेश कुशवाहा, अधिवक्ता शिवदास महाजन, पूर्वमन्त्री बसाबन प्रसाद भगत लगायतको उपस्थिति रहेको थियो।
महाधिवेशनमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्वान, पदाधिकारी, समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई “उत्कृष्ट कुशवाहा सम्मान” प्रदान गरिएको थियो। कार्यक्रममा समाजसेवामा सक्रिय, उच्च शिक्षामा डिग्री हासिल गरेका तथा विभिन्न संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका व्यक्तिहरूलाई सम्मान गरिएको हो।
महाधिवेशनको बन्द सत्रले नन्दु प्रसाद कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति सर्वसम्मतिले चयन गरेको छ। समितिमा बिरेन्द्र कुमार मेहता (उपाध्यक्ष–पुरुष), रेणु महतो (उपाध्यक्ष–महिला), पुण्य लाल महतो (महासचिव), डा. आलोक कुमार कुशवाहा (उप-महासचिव), दिपेन्द्र कुमार महतो (सचिव), डा. बिरेन्द्र कुमार सिंह (कोषाध्यक्ष) लगायत चयन भएका छन्।
कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्याउने नेपाल कुशवाहा कल्याण समाज, विभिन्न वर्गीय समाज तथा संस्थाहरू प्रति आयोजकले आभार प्रकट गरेको छ।















