काठमाडौं, त्रिभुवन राजपथ — नागढुङ्गा सुरुङ मार्गको काठमाडौं प्रवेशद्वारअगाडिको भू–भागमा पुनः जमिन चिरिएको छ। सिस्ने खोलास्थित त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्डअन्तर्गत पर्ने उक्त स्थान अघिल्लो वर्ष पनि पहिरो गएको जोखिमयुक्त क्षेत्र हो।
पछिल्लो चिरा देखा परेपछि सुरुङ मार्ग निर्माण आयोजना तथा नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुखसहित प्राविधिक टोलीले स्थल निरीक्षण र अनुगमन गरेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेका अनुसार सुरुङको प्रवेशद्वारभन्दा अघिल्लो भागको दाहिने पट्टि करिब १८० मिटर चौडाइ र ४० मिटर उचाइमा पहिरो खस्ने सम्भावना रहेको प्राविधिकहरूको मूल्यांकन छ।
सम्बन्धित क्षेत्र पहिल्यैदेखि संवेदनशील मानिँदै आएको हो। पहिरो रोकथामका लागि पहिला त्रिपालले ढाकिएको भए पनि अहिले पुनः जमिन चर्किन थालेको देखिएको छ। त्यसपछि तत्काल माथिल्लो क्षेत्रमा पानी नछिर्ने गरी थप त्रिपाल राख्न र आवश्यक सामाग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिए।
सुरुङ मार्गअगाडि रहेको उक्त भू–भाग नजिकै बस्तीहरू र तलतिर सडक रहेको कारण संभावित पहिरोले ठूलो क्षति पुर्याउने जोखिम छ। विशेषगरी काठमाडौं प्रवेश गर्ने मुख्य नाका त्रिभुवन राजपथ नै प्रभावित हुनसक्ने भएकाले पूर्वतयारीमा कुनै कसर नराख्न निर्देशन दिइएको हो।
नागढुङ्गा सुरुङ मार्ग क्षेत्रको भूगर्भीय संवेदनशीलता झन् बढ्दै गएको देखिन्छ। सम्बन्धित निकायहरू सतर्क रहे पनि स्थायी समाधान र जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक देखिन्छ।















