स्थानीय त्रसित, खेती प्रभावित
पश्चिम नवलपरासीकाे सुस्तामा बाघ गाउँ पसेकाे हल्लाले स्थानीयवासी त्रसित बनेका छन् भने कृषककाे खेतीपातीकाे काम प्रभावित हुन थालेकाे छ ।
सुस्ता गाउंपालिका वडा नं. ४ र ५ काे नरसही र पकलिहवा क्षेत्रमा स्थानीयवासीले देखेकाे कुरा बताएपछि घटनाकाे खबर भुसकाे आगाे झैं चारैतर्फ फैलिएकाे छ । जसले गाउंले त्रसित भएका छन् भने कृषक र खेतालाहरू खेतमा काम गर्न जान हच्किएका छन् ।
बाघले कुकुरलाइ मारेर खाएकाे घटनाहरू बाहिरिएपछि बाघ आएकाे विश्वास लागेर ग्रामिण झनै त्रसित भएकाे बताएका छन् । कुखुरा, बाख्रा समेत बाघले खाएकाे छ, स्थानीयकाे भनाई छ ।
बाघ गाउं पसेकाे हल्ला चलेपछि किसानहरू खेतीबारीमा जान डराएका छन् । डरका कारण किसानकाे खेतमा पाकेकाे केरा बाली काट्न कठिनाइ उत्पन्न भएकाे बताइएकाे छ । खेतमा पाकेकाे केरा बेलैमा नकाटे कुहिएर नष्ट हुने बाध्यता छ, जसले किसानले प्रत्यक्ष नाेक्सानी भाेग्नु परेकेा छ ।
गाउंमा बाघ आएकाे घटनाकाे खबर गाउंलेले दिएपछि सब डिभिजन कार्यालयका कर्मचारी साे क्षेत्रमा पुगे । खाेजबीन गर्दा बाघ प्रत्यक्ष रूपमा त देखिएन तर कुकुरलाइ मारी खाएकाे घटनालाइ पछ्याउदै जादा खुट्टाकाे डामले बाघ नभइ चितुवा भएकाे प्रतापपुर सुस्ता सब डिभिजन कार्यालय फेचुहाका रेञ्जर चिन बहादुर यादवले बताउदै अगाडि भने चितुवासित बच्चा पनि भएकाे देखिन्छ । चितुवा माउ हुनुपर्छ ।
उनले चितुवा कताबाट आयाे हाेला ? यकिन साथ भन्न नसकिने बताउंदै उनले भने राष्ट्रिय निकुञ्ज कसराकाे जंगल वा भारत बिहारकाे धनहिया जंगलबाट आएकाे हुनसक्ने अनुमान गर्न सकिन्छ । चितुवा समात्ने प्रयासमा हामीले खुट्टाकाे डाम पछ्याउदै तथा कुकुर मारेर खाएकाे क्षेत्रमा निगरानी गर्दै जांदा केही दुरीसम्म पछ्यायाैं तर घना उखुबारी तथा केराबारीमा पछ्याउन गाह्राे भयाे, हामी फर्कियाैं र राष्ट्रिय निकुञ्ज कसरालाइ जानकारी गरायाैं । कसराले नियन्त्रणकाे केही प्रयास अवश्य पनि गर्ने हाेला । तबसम्म स्थानीयवासीलाइ संयमता अपनाउन आग्रह गरिएकाे छ ।
यस क्षेत्रमा यसरी नै गाउँ पसेकाे एक चितुवा गएकाे चैत महिनामा प्रतापपुर क्षेत्रमा मृत अवस्थामा फेला परेकाे थियाे ।





