तातोपानी, सिन्धुपाल्चोक — उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने मितेरी पुलको बीचमा रातो लाइन कोरिएको छ । उक्त लाइन नेपाल–चीन छुट्याउने लक्ष्मण रेखा हो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त यो मितेरी पुल चिनियाँ कम्पनी ‘तान् सुन रोड एन्ड ब्रिज कम्पनी’ ले केही महिनामै ठड्याएको थियो ।
चीनतर्फको मितेरी पुलको स्वागतद्वार आधुनिक र आकर्षक लाग्छ । नेपाल–चीन सीमामा पुग्ने हरेक आगन्तुक र व्यवसायी मितेरी पुल, स्वागतद्वार र खासा बजार हेरेर दंग पर्छन्, तर वारिको भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्र भने उराठलाग्दो देखिन्छ ।
लिपिङमा मितेरी पुलसँगै २ वटा ठूला पिलर ठडिएका छन् । यी पिलर नेपाल आउनेलाई स्वागत गर्न बनाउन लागिएको स्वागतद्वारका हुन् । २०७० बाट यो द्वार बनाउन थालिए पनि यी ८ वर्षमा अरू प्रगति भएको छैन । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा रहँदा तत्कालीन नेपाल–चीन मितेरी व्यापार संघका अध्यक्ष बहादुर शेर्पाले चिनियाँ स्वागतद्वार जस्तै नेपालतर्फ पनि स्वागतद्वार बनाउने उद्घोष गरेका थिए ।
स्वागतद्वारमा शाक्यमुनि गौतम बुद्ध र कलाकार अरनिकोको कलात्मक मूर्ति राख्ने गरी डीपीआरसमेत गरिएको थियो । सोहीअनुसार निर्माण पनि थालिएको थियो । तर २०७२ को भूकम्प र २०७३ को भोटेकोसीको बाढीले निर्माण प्रभावित बन्यो । त्यसयता अन्य कुनै काम भएको छैन ।
‘सुरुमा भूकम्पले काम रोकियो, अर्को वर्ष भोटेकोसीको बाढीले निर्माण सामग्री बगायो,’ निर्माण समितिका कोषाध्यक्ष कामी शेर्पाले भने, ‘पछि समिति अध्यक्ष बहादुर शेर्पाज्यू बित्नुभयो, त्यसपछि काम अघि बढेन ।’ बुद्ध र अरनिकोको मूर्ति ललितपुरको पाटनमा बनेर तयार रहेको बताउँदै आएका उनले यी सबै सामग्री स्टोरमा थन्किएको बताए ।
स्वागतद्वार निर्माण गर्न तत्कालीन जिल्ला विकास समिति, पर्यटन बोर्ड र पर्यटन विभागबाट गरी एक करोड रुपैयाँ विनियोजन भएको थियो । स्थानीय व्यापारी र विभिन्न संघसंस्थाले पनि समितिलाई सहयोग गरेका थिए । तर उक्त रकमको हिसाबकिताब पारदर्शी छैन । समिति कोषाध्यक्ष शेर्पा भने निर्माणसम्बन्धी सबै कागजात तथा हिसाबको विवरण भोटेकोसी गाउँपालिकालाई बुझाइसकेको बताउँछन् ।
अलपत्र स्वागतद्वार निर्माण छिटो सक्न स्थानीयले समितिलाई दबाब दिँदै आएका छन् । तर मृत्युअघि समिति अध्यक्ष बहादुर शेर्पाले भने रकम सिद्धिएकाले निर्माण रोकिएको बताउने गरेका थिए । भोटेकोसी–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी नाका सञ्चालनमा रहँदा स्वागतद्वार निर्माण अभियान सुरु भएकोबारे थाहा पाएको तर अन्य विषयमा आफू अनभिज्ञ रहेको बताए । ‘निर्माण समिति अध्यक्ष बितेपछि त्यो काम यत्तिकै अलपत्र भएको देखिन्छ, अन्य कुरा मलाई केही जानकारी भएन,’ उनले भने । कान्तिपुरबाट





