परासी, नवलपरासी पश्चिम।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको सुविधा सम्पन्न भवनको उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले अब जिल्लावासीले जिल्लाबाटै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। साथै, अस्पतालमा आएका बिरामीहरूलाई यथासम्भव यहीँ उपचार गर्न चिकित्सकहरूलाई निर्देशन समेत दिनुभयो।
“बिरामीलाई उपचार गर्नुभन्दा बाहिर रिफर गर्न रमाउने प्रवृत्ति अब अन्त्य होस्। आगामी दिनमा यस्तो गुनासो सुन्न नपरोस्,” मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो, “प्रत्येक बिरामीलाई विशेषज्ञ सेवा यहीँ उपलब्ध गराउने व्यवस्था मिलाइनुपर्छ।”
उहाँले हाल लुम्बिनी प्रदेशमा वर्षा अभावका कारण धान रोपाइँ प्रभावित भएको उल्लेख गर्दै प्रदेश सरकार किसानको समस्या समाधानमा विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो। आवश्यकताको आधारमा संघीय सरकारमा प्रस्ताव पठाउने प्रक्रिया अघि बढाइएको समेत बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त दुई तले भवनमा आजबाट आँखाको विशेषज्ञ सेवा र मिर्गौला पीडित बिरामीका लागि हेमोडायलाइसिस सेवा पनि सुरु गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाका अनुसार नयाँ सेवाको थालनीले जिल्लावासीलाई उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको छ।















