बर्दघाट, २५ कार्तिक ।
पश्चिम नवलपरासी ।
चन्द्राेदय बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाट–१४ चाैपत्ताले आफ्नो ३२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष भरत प्रसाद देवकोटाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा नगर प्रमुख श्रेष्ठले बाेल्दै, सहकारीहरूले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म आफ्नो पहुँच विस्तार गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले दुग्ध उत्पादनमा योगदान गर्ने किसानका लागि प्रति लिटर दुधमा एक रूपैयाँ अनुदान दिने व्यवस्था गरिएको बताउँदै, आगामी वर्ष परिस्थितिअनुसार उक्त अनुदान अझ बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा नगर उपप्रमुख रूद्र प्रकाश उपाध्यायले किसानले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहकारीहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। उहाँले चन्द्राेदय सहकारीले राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको भन्दै गौरव महसुस गर्नुपर्ने बताउनुभयो।
सभामा संस्थाका अध्यक्ष देवकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका सचिव शोभाकर भुसालले वार्षिक गतिविधि प्रतिवेदन र कोषाध्यक्ष बलराम अधिकारीले रु. २१ करोड ११ लाख ५० हजार बराबरको वार्षिक अनुमानित आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो।
लेखा समिति संयोजक माधव तिवारीले संस्थाको आर्थिक अवस्था प्रस्तुत गर्दै, गत वर्ष रु. ३ करोड ५८ लाख ६० हजार बराबरको सेयर पूँजी रहेकोमा गत वर्षको लक्ष्य अनुसार मुनाफा नभएको जानकारी दिदै, यस वर्ष रु. ३ करोड ३७ लाख कायम भएको बताउनुभयो । गत वर्षको तुलनामा सेयर सदस्य बढेको भए पनि फिक्स रकम २१ लाख घटेको जानकारी दिनुभयो।
कार्यक्रममा सल्लाहकार पूर्ण प्रसाद तिमिल्सिना, ग्रामीण वाल्मीकि सहकारीका सह–सचिव कृष्ण प्रसाद गौतम, बाटिका कृषि सहकारीका अध्यक्ष मेघनाथ आचार्य, र सल्लाहकार कृष्ण प्रसाद पाण्डे लगायतले संस्थाको प्रगतिमा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
सभामा हरेक दूध संकलन केन्द्रबाट सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानहरूलाई गाई–भैंसीको दाना र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रमको स्वागत उपाध्यक्ष रिता देवी कोइरालाले गर्नुभएको थियो भने सञ्चालन सचिव शोभाकर भुसालले गर्नुभएको थियो।















