बिज्ञापन

कोलम्बो । श्रीलङ्काका सेना प्रमुख शवेन्द्र सिल्भाले शान्ति कायम राख्न आग्रह गरेका छन् । हजारौं प्रदर्शनकारीले हिजो (शनिबार) राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगो लगाएका थिए ।

हिजोको घटनापछि आज (आइतबार) श्रीलङ्काको राजधानी कोलम्बो शान्त देखिएको छ तर हिंसा भड्किन सक्ने त्रास कायमै रहेको जनाइएको छ । सेना प्रमुख सिल्भाले छिटै सबै कुराको समाधान निस्कने आशा गर्दै समस्या बढाउने नभई कम गर्नेतर्फ सोच्न प्रदर्शनकारीलाई आग्रह गरेको एनडीटीभीले जनाएको छ । यस्तै प्रमुख विपक्षी दल समागी जन बालवेगया (एसजेबी) ले पनि नागरिकलाई शान्त रहन अपिल गरेको छ ।

Advertisement

यसैबीच श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ छन् भन्ने अझै खुलेको छैन । हिजो हजारौं प्रदर्शनकारीले राष्ट्रपति निवास घेर्नुअघि नै सेनाले उनलाई निवासबाट सुरक्षित स्थानमा लगेका थिए । उनी सुरक्षाकर्मीका गाडीको ‘स्कर्टिङ’ मा विमानस्थल पुगेको र विमानमा बन्दोबस्तीका सामान राखेको देखिएको खबरमा उल्लेख छ ।

तर सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा उनी पानी जहाजमा गएको देखिएको छ । राष्ट्रपति राजापाक्षे श्रीलङ्कामै छन् या विदेश गएका हुन् भन्ने केही खुलेको छैन । उनी सभामुख महिन्दा यापा अबेवर्धनासँग मात्रै सम्पर्कमा छन् र आउँदो बुधवार राजीनामा दिने खबर पुर्‍याएका छन् ।

Advertisement