राष्ट्रिय मेलमिलापको सान्दर्भिकता

0
171

१६ पुस २०३३ अर्थात् आजकै दिन बीपी कोइराला नेपाल फर्किएका थिए । हाम्रो देश राष्ट्रिय संकटमा छ, संकट चर्कंदै गएको र राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको बताउँदै उनी नेपाल फर्किएका थिए । बीपीको थप कथन थियो– आज देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिला राष्ट्रियताको हत्या हुन्छ । तर, अहिले समय बदलिएको छ ।

राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किएका बीपीबारे बुझ्न इतिहास पल्टाएर हेर्नुपर्छ । तत्कालीन राजा महेन्द्रले मृत्युदण्ड सुनाएपश्चात् प्रवासमा रहेका बीपी लगायत बहुदलीय व्यवस्थाका पक्षधरहरूको नेपाल फिर्ती आफैंमा नेपालको इतिहासमा एउटा युगान्तकारी घटना थियो । २०६२/६३ को आन्दोलनले नेपाललाई गणतन्त्रमा प्रवेश गराएयता बीपीको मेलमिलाप नीतिको सान्दर्भिकतामा प्रश्न उठाउनेहरू पनि प्रशस्तै छन् । तर, मुलुक गणतन्त्रमा प्रवेशयता धार्मिक, भाषिक, भौगोलिक, साम्प्रदायिक आदि ‘पहिचान’का नाममा कतै मुलुक थप अनेकतातिर गएको त होइन भन्ने प्रश्नभित्र बीपीको मेलमिलापको आवश्यकता झनै खट्किएको पाइन्छ ।

Advertisement

बीपी कोइरालालाई कांग्रेसका संस्थापक नेताका रूपमा मात्र नहेरी स्वतन्त्र वैचारिक नेताका रूपमा हेर्ने हो भने पनि मेलमिलापको सान्दर्भिकता उनका हरेक कालखण्डका भनाइमा भेटिन्छ । २०१७ साल पुस १ मा बहुदलीय प्रजातन्त्रमाथि राजा महेन्द्रबाट ‘कु’ पश्चात् ‘देशद्रोह’को मुद्दा खेपेका नेता बीपी २०२५ कात्तिक १४ मा जेलमुक्त हुनासाथ भारतमा निर्वासन जीवन बिताउन पुगे । ८ वर्षको निर्वासित जीवन पश्चात् मुलुकको सार्वभौम रक्षाका खातिर नेपालभित्र रहेरै संघर्ष गर्ने जोखिम बीपीले उठाए । दक्षिणएशियामा विकसित घटनाक्रमले आफूमाथिको मृत्युदण्डको सजायको फैसला समेत उनको लागि गौण बन्न पुग्यो । प्रष्टै छ– जब त्यतिबेलाको भारतीय संस्थापन पक्षले बीपी र राजाका बीच खेलेर बीपीलाई एक्ल्याउने प्रयत्न भयो, तब बीपी राष्ट्रिय स्वतन्त्रताका निम्ति आफूले खतरा मोल्नै पर्ने भए पनि ठीकै छ भन्ने निष्कर्ष सहित नेपाल फर्कन तयार भए भनेर बुझ्न कठिन छैन ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको ‘नीति र नारा’ लिएर बीपी नेपाल फर्किए । त्यसैको जगमा २०४६ को परिवर्तन सम्भव भएको हो । उक्त परिवर्तनको जगमा २०६२/६३ को परिवर्तन झनै सम्भव भएको हो । हिन्दू धर्म र २४० वर्षको इतिहास बोकेको राजतन्त्र हटाउने विषयमा नेपाल भित्रै झिनो फरक मत राख्नेहरू पनि पाइन्छ । सँगै, नेपालभित्रै वामपन्थीसँग मिलेर गरिएका २०४६ र २०६२/६३ को आन्दोलन नै बेठीक थियो भन्ने झिनो मत पनि छ । तर, अस्तित्वमा रहेका राजनीतिक दलले बीपीको मेलमिलाप नीतिको अनुसरण गर्दै प्राप्त उपलब्धिको रक्षाका निम्ति दलीय भावना भन्दा माथि उठ्न नसक्ने हो भने प्राप्त उपलब्धि माथि चाहिं खतरा कायमै रहने स्थिति छ ।

Advertisement