रासायनिक मलको हाहाकार, कृषिमन्त्रीकाे चर्काे विराेध, भिडियाे रिपाेर्ट सहित …..

177

नवलपरासी, १८ पुस ।

देशका किसानलाई रासायनिक मलको हाहाकार मचेको अवस्थामा सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले रासायनिक मल उपलब्ध गराउन नसकिने बताएपछि किसानहरु निराश बनेका छन् । मलकाे मागलाइ लिएर किसानहरू देशैभरि आन्दाेलित भएका छन ।

नेपाललाइ रासायनिक मल दिने सबै देशहरूमा मलकाे अभाव रहेकाे भन्दै यादवले मल उपलब्ध गराउन नसकिने कुरा घुमाउराे शैलीमा भनेपछि ठाउठाउंमा राेष प्रकट गरिएकाे छ । तराइमा हाइवे केन्द्रित सडक जाम, यातायात ठप्प लगायतका आन्दाेलन चर्किन थालेकाे छ ।

राप्रपाले कावासाेतीकाे एक मञ्चबाट मन्त्री यादवकाे राजीनामाकाे माग गर्याे । मन्त्री यादवले रासायनिक मलको अभाव तत्काल समाधान गर्न सम्भव नरहेकोमा प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिएका थिए ।

रासायनिक मलको अभाव कम गर्न जिटूजी माध्यम उपयुक्त भएपनि धेरै देशलाई पत्राचार गर्दा समेत अहिले कोही रासायनिक मल उपलब्ध गराउन तयार नरहेको उहाँको भनाइ छ । यादवले अन्तर्राष्ट्रिय बजारमा पनि मलखाद्यको अभाव रहेकाे कुरामा जाेड दिदै प्रागांरिक मलकाे प्रयाेगमा जाेड दिएका थिए । उनकाे यस सुझावलाइ किसानले भनेका छन्, मागअनुसारकाे मल पुरा गर्न नसकेका मन्त्री यादव गैर जिम्मेवारी पूर्ण अभिव्यत्ति दिएका छन् ।

यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढिरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको भन्दै उहाँले निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल हुने दाबी गरे ।

तराई मधेशका जिल्लाहरुमा हिउद याममा गहुँ बाली, तरकारी खेती गर्ने गरिन्छ, उक्त खेतीपाती गर्न रासायनिक मल, डिएपी र युरिया आवश्यक पर्दछ तर समयमा उनीहरुलाई उपलब्ध गराउनुपर्ने मा गैर जिम्मेवारी अभिव्यक्ति दिएर प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिदा अलिकति पनि सोचन शक्ति नरहेको किसानहरुले गम्भीर आरोप लगाएका छन् ।

गहुँबालीमा युरिया मल छर्नुपर्ने अावश्यक रहेकाे तर मन्त्री जस्ताे जिम्मेवार व्यक्तिले प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिनु निकै दुखद रहेको तिनीहरुको भनाई छ । किसानहरुको समस्या समाधान गर्न नसकिने मन्त्री यादवलाई अलिकति पनि कुर्सीमा बस्ने कुनै अधिकार नरहेको हुँदा तत्काल राजिनामा दिनुपर्ने जस्ता आवाज उठेको छ ।

नेपाली किसानहरु हरेक वर्ष विउ सहित रासायनिक मलको समस्या झेल्ने गरेका छन् । नेपालमा एमसिसि पारित हुन्छ भनेर चीनले मल ढुवानीमा प्रतिबन्ध लगाएपछि चीनबाट समेत मल अाउन सकेकाे छैन । जसले यस प्रकारको समस्या उत्पन्न भएको छ ।
चीनले आपूर्तिमा लगाएको प्रतिबन्धका कारण नेपालका किसानहरु समस्यामा परेका हुन् । परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई खबर गरेको भए पनि कुनै जवाफ नआएको जनाएको छ । चीनले उत्तरी सीमा नाका क्षेत्रमा अघोषित नाकाबन्दीका कारण नेपाली व्यापारीहरुको करोडौंको सामान समेत अलपत्र परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल किन्न थप १३ अर्ब २० करोड बजेट मागेकामा अर्थ मन्त्रालयले ९६ करोड रुपैयाँ मात्र दिएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण मल खरिद गर्न रकम अभाव भएको भन्दै कृषिले थप बजेट मागेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि मल किन्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले भने अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मल खरिद गर्ने रकम बढाएर १५ अर्ब रुपैयाँ पुर्‍याएका थिए । तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि कृषिले मागअनुसार खरिद गर्न नसकिने भन्दै अर्थसँग थप बजेट मागेको हो ।

थप बजेटका लागि मंसिर ६ मा पत्र पठाइएको कृषि मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका कृषि प्रचार अधिकत अरुण जीसीले जनाए । अर्थले तत्काल ९६ करोड रुपैयाँको स्वीकृति दिए पनि बाँकी रकमबारे थप छलफल गर्नुपर्नेसहितको जवाफ पठाएको छ । ‘गहुँ सिजनका लागि जसोतसो मल पुगे पनि धान रोपाइँका बेला मलको समस्या हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले कोटाअनुसार किन्न सक्ने अवस्था रहेन । त्यही भएर अर्थसँग थप बजेट मागेका थियौं,’ जीसीले भने, ‘अर्थको पत्र मंसिर २६ मा पायौं, ९६ करोड तत्काल स्वीकृति दिने भनिए पनि बाँकी १२ अर्ब २४ करोड ४८ लाख थप छलफल गर्नुपर्ने भनिएको छ ।’

वर्षमा २/३ बाली लगाउँदा वार्षिक करिब १२ लाख टन रासायनिक मल आवश्यक पर्छ । धानबालीका लागि मात्रै ४ लाख ४८ हजार ६७ टन चाहिन्छ । मकैका लागि ३ लाख ११ हजार ६ सय ८६ टन र गहुँका लागि १ लाख ५५ हजार ७ सय ३६ टन चाहिन्छ । करिब साढे ५ लाखदेखि ६ लाख टनसम्म उपलब्ध हुँदा बजारमा हाहाकार हुँदैन । मन्त्रालयको पछिल्लो ५ वर्षको विवरणअनुसार २०७७/७८ मा ४ लाख २ हजार र २०७६/७७ मा ३ लाख ५२ हजार ३ सय ६७ टन मल आयात भएको थियो ।

२०७५/७६ मा ३ लाख २० हजार र २०७४/७५ मा ३ लाख ३४ हजार ९ सय ९९ टन आयात भएको मन्त्रालयकाे विवरणमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण अहिले उक्त परिमाण पनि खरिद गर्न मुस्किल हुने कृषि मन्त्रालयको भनाइ छ ।

यता अर्थमन्त्री शर्माले भने मल खरिद गर्नकै लागि थप बजेटको समस्या नहुने बताएका छन् । यस विषयमा कृषि मन्त्रालयलाई अगाडि बढ्न भनिसकेको उनले जनाए ।

‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण यस वर्षलाई छुट्याइएको बजेटले मल किन्न पुगेन, बजेटबाटै थप बजेट व्यवस्थापन गर्नुपर्ने भयो । प्रतिस्थापन बजेट बनाउँदा कृषिलाई मल खरिद गर्न आवश्यक बजेटबारे सोधेका थियौं । उसले १३ अर्ब रुपैयाँ चाहिन्छ भन्दा हामीले १५ अर्ब दियौं,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले थप बजेट मागेको छ । मूल्यवृद्धिकै कारण १५ अर्बबाट ३० अर्ब चाहिने बेला भयो । बजेटको समस्या हुँदैन, अगाडि बढ्नुस् भनेका छौं ।’

अन्तर्राष्ट्रिय बजारमा समेत मल अभाव हुँदा सरकारले (जीटूजी) अर्थात दुबै देशका सरकार सरकारबीच सम्झौता गर्न सकेको छैन । भारत सरकारबाट जीटूजीमार्फत ५ वर्षसम्म मल खरिदका लागि दुवै देशका सचिवस्तरको बैठकमा समझदारी भएको छ । तर भारतमा समेत मलको हाहाकार छ, जसले गर्दा प्रक्रियामा ढिलाइ भइरहेको छ । मंसिर २८ सम्म सरकारसँग जम्मा २५ हजार ५ सय ५८.३५ टन मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ । यसमध्ये कृषि सामग्री कम्पनीसँग १३ हजार ७ सय १६.३५ र साल्ट ट्रेडिङ कर्पोरेसनसँग ११ हजार ८ सय ४२ टन मौज्दात छ । बाटोमा भने ३ हजार १ सय ६३ टन रहेको मन्त्रालयको भनाइ छ ।

अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन किन्दै आएका छन् । कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन् । यी कम्पनीले मल आयातका लागि ग्लोबल टेन्डर गर्छन् । यसरी मल ल्याउँदा ६/७ महिना लाग्छ । तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण करिब १६ वटा टेन्डरसमेत रद्द भएको कृषि मन्त्रालयले जनाएको छ ।