नवलपरासीमा २ गाडी सहित १८ लाख १५  हजार मुल्यको अवैध मालसामान र अवैध मुद्रा बरामद  

61

नवलपरासी (पश्चिम), १९ असाेज ।

भन्सार छली कारोवारमा संलग्न २ वटा पिकअप गाडी सहित भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारीमा गरी ल्याउदै गरेको १५ लाख १५ हजार २ सय ८५ मुल्य बराबरको अवैध मालसामान र श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँ जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोक स्थितमा चेकजाँच गर्ने क्रममा लु २ च ५९३६ नं. को पिकअप गाडीमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २००० जिउ गिरीराज कुखुराका चल्ला फेला परेकोले पिकअप गाडी र चालक समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाएको छ, बरामद कुखुराको अन्दाजी मुल्य २ लाख रहेको छ ।

त्यसैगरी बिहान भारतबाट अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखेको १०० पिस लेडिज कुर्ता सुरुवाल ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोक स्थितबाट बरामद गरेको छ । उक्त कपडाको अन्दाजी मुल्य २ लाख ५० हजार बराबर रहेको छ । बरामद कपडा  आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा नं. ५ रतनगंज स्थितमा लु १ च ४६२८ नं. को पिकअप गाडीलाई  चेकजाँच गर्ने क्रममा उक्त पिकअप गाडीमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ९६४ लिटर मोबिल आयल फेला परेकोले गाडी र चालक सहित बरामद गरेको छ । बरामद मोबिल आयलको अन्दाजी मुल्य ४ लाख ६० हजार ४ सय र पिकअप गाडीको अन्दाजी मुल्य ५ लाख गरी जम्मा ९ लाख ६० हजार ४ सय मुल्य बराबर रहेको छ । बरामद मोबिल आयल, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

त्यसैगरी भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख ४ हजार ८ सय ८५ मुल्य बराबरको घाँसको बिउ सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. १ बन्धास्थितबाट बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

त्यसैगरी मिति २०७८।०६।१७ गते दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ७ उजैनी स्थितमा शंकास्पद रुपमा हिडिरहेका २ जना भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट श्रोत नखुलेको १ हजारका ३०० थान ( ३ लाख नेपाली रुपैयाँ ) नोट फेला परेकोले निज दुवै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको छ ।