पर्सा
जनता समाजवादी पार्टी नेपाल पर्साले पोखरिया नगरपालिका र पकाहामैनपुर गाउँपालिकामा बलीदानी दिवस मनाएको छ । विभिन्न चरणमा भएको मधेस आन्दोलनका क्रममा अधिकार प्राप्तिको लडाईका लागि संघर्ष गर्दै आफ्नो ज्यानको आहुति दिनुहुने वीर शहिद चन्दन पटेल र सत्रुधन पटेललाई नेतागणहरुले फुलमाला अबिर लगाई श्रद्धान्जली अर्पण गरेका हुन ।
हामीले प्राप्त गरेको अधिकार र पहिचान सहिदहरुले दिनुभएको योगदान र बलिदानको देन हो । मधेस र मधेसी जनतामाथि वर्षौं देखि भइरहेको अन्याय, अत्याचार, विभेद र दमनलाई अन्त्य गर्न वीर शहिद रमेश महतोको बलिदानीले बिगुल फुकिदिएको आन्दोलनले मधेसलाई आफ्नो अधकारका लागि लड्नु पर्छ, केही गर्नु पर्छ भनेर झकझकायो र फलस्वरूप आज हामीले थोरै भएपनि अधिकार र पहिचान पाएका छौँ । वीर शहिदहरुले गर्नु भएको योगदानले पाएको उपलब्धिहरुलाई संस्थागत गर्दै बाकिरहेको अधिकार पनि हामीले संघर्ष मार्फत प्राप्त गर्ने केन्द्रिय सदस्य एवं युवाका केन्द्रिय सह-इनचार्ज फिरोज मन्सुरले बताए ।
आज बलिदानी दिवसको महान दिन हो । शहिदहरुको योगदान र बलिदानलाई उच्च कदर गर्दै प्रदेश सरकारले आज थप राहत वितरण गर्दै छ । सहिदको परिवारलाई राज्यले थप अवसर र सुविधा दिनेछ र उहाँहरुको सम्मान गर्नेछ भने आशाबादी छु साथै हामी सबैले आ-आफ्नो स्थानबाट वीर शहिदहरुको योगदानलाई सझीदै उहाँहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेस अधिकारको लागि सुरु भएको यो लडाईलाई निरन्तर जारी राख्न प्रतिबद्ध रहन मधेस प्रदेश समितिका उपाध्यक्ष वृजमोहन तिवारीले आग्रह गरेका हुन ।
मधेस प्रदेश सरकारले यसवर्ष सप्तरीको सदरमुकाममा विशेष कार्यक्रम गरी बलीदानी दिवस मनाईरहेको छ भने बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको निधन भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
पकाहामैनपुर गाउँपालिकामा मदन साह कानुको अध्यक्षतामा र पोखरिया नगरपालिकामा गोबर्धन यादवको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य फिरोज मन्सुर, विशेष अतिथि मधेस प्रदेश समिति उपाध्यक्ष वृजमोहन तिवारी, सदस्य गौरीशंकर साह, जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै जसपाको क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष कामेश्वर पडित, समाजवादी युवा संघ मधेस प्रदेशका सदस्य शिव कुमार साह, समाजवादी मुस्लीम संघका केन्द्रीय सचिवालय सदस्य रउफ अन्सारी, जिल्ला सदस्य मुम्ताज देवान, पोखरिया नगरपालिकाका सचिव शिवनाथ साह, केशव गिरी र मुन्ना साह, खुर्सेद आलम लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।















