प्रधानसेनापति शर्मालाई भारतीय सेनाध्यक्षको मानार्थ महारथीको सम्मान

9

काठमाडौँ, २६ कार्तिक ।

प्रधानसनोपति प्रभुराम शर्मालाई भारतीय सेनाध्यक्ष (स्थल सेना) को मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रिपति रामनाथ कोविन्दले बुधबार नयाँ दिल्लीमा भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाली सेना र भारतीय सेनाबीच आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रही आएको नेपाली सेनाले जनाएको छ । नेपाल सरकारको निर्णय बमोजिम बुधबार मानार्थ महारथीको सम्मान लिन प्रधानसनोपति शर्मा भारतको चार दिने औपचारिक भ्रमणमा निस्केका थिए ।

भ्रमणको पहिलो दिन मंगलबार शर्माले भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंह, भारतका सुरक्षा सल्लाहकार अजित डोबल, चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र विदेश सचिव हर्षवर्धन श्रृंगलासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली पक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ताको लागि आग्रह गरेपनि बुधबार बेलुकीसँग पक्का भइसकेको छैन । ‘रक्षा मन्त्री सिंहसँगको भेटवार्ता भने लगभग तय भएको भन्न सकिन्छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले कान्तिपुरसँग भने, ‘मोदी र जयशंकरसँगको भेटवार्ता अहिलेसम्म टुंगो लागेको छैन ।’