ओली सरकारको कागजी बजेट कार्यान्वयनमा समस्या भयो : खाँण

74

तिलोत्तमा, २१ कार्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले ल्याएको बजेटलाई कागजी धोकाको संज्ञा दिएका छन् । उनले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा त्यो कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।

शुक्रबार गृहजिल्ला रूपन्देहीको तिलोत्तमा गौशालामा गोबर्धन पूजा गर्दै गृहमन्त्री खाँणले अहिलेको सरकारले यथार्थमा आधारित बजेट ल्याएको बताए । ‘जनतासँग हामीले जे हो त्यही बोल्नुपर्छ । सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन, कोषमा पैसा हुनुपर्छ,’ उनले भनेका छन् ।

बजेटका लागि दातृ निकायको सहयोग नआएको भन्दै उनले कागजी लेखाइले जनताको आशा पूरा नहुने बताए । आफूहरूले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती गरेको नभई बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाँणले बताएका थिए ।

यस्तै उनले अहिले ल्याएको बजेट यथार्थपरक बजेट भएको भन्दै कागजी बजेटमा समेटिएका केही योजना कटौती भएकोसमेत बताए । एमसीसी पास गर्ने सवालमा भने विपक्षी दलका नेताहरूले दुई चरित्र देखाएको उनको आरोप थियो ।