कास्की, १२ कार्तिक ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कोषको रकम खर्च गरेर बालुवाटारमा हेलिप्याड बनाएको बताएका छन् ।
शुक्रबार नेकपा (एस)को स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले कोरोनाको कोषको बजेट दुरुपयोग गर्दै हेलिप्याड बनाएको बताएका थिए । उनले ओली नेतृत्व सरकारले चरम भ्रष्टाचार गरेको बताए । ओलीले अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको बताउँदै जनताका समस्यालाई सम्बोधन नगरेको बताए ।
निर्मला पन्त लगायतका घटनाका दोषीलाई कारबाही नगरी देशमा अशान्ति पैदा गर्ने केपीले आफू र आफ्ना भक्तबाहेक अरुलाई सम्मान गर्न नजान्ने उनको भनाइ थियो । सरकारमा रहँदा पनि काम गरेको झुटो भाषण गर्ने ओलीले जबजको नारा लगाउँदै पार्टी र सत्ताको दुरुपयोग गरेको उनले बताए ।
ओलीको राजतन्त्र र भारतसँग साठगाँठ रहेकाले पटक-पटक संसद् विघटन गरेको आरोप उनको थियो । ओली गलत बाटोमा हिँडेकाले उनलाई सुधार्न धेरै पहल गरेको बताउँदै उनले भने, ‘ओली बालुवा हुन्, उनलाई निचोरेर तेल आउँदैन । उनलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मुर्खता हो ।’
विदेशीसँग लम्पसार ओली लोकतन्त्रको मूल्य र मान्यतालाई कुल्चिएर अघि बढेको उनको भनाइ थियो । संविधान रक्षा गर्ने भनेर कसम खाएका ओलीले संविधानमाथि नै घात गरेको भन्दै अध्यक्ष नेपालले एउटा व्यक्तिको स्वार्थका लागि पार्टी नै गुमाउन हुँदैन भनेर नेकपा (एस) खोल्न बाध्य भएको बताए ।
माओवादीका संख्याको भर्याङ चढेर दुई तिहाइको फुई लगाएका ओलीले दुई तिहाई टिकाउन नसकेको उनको भनाइ छ । गलतलाई गलत नभनी उनको भजन गाएमा मात्र उनको प्रिय भइने बताउँदै नेपालले देश र पार्टी जोगाउनका लागि नयाँ कदम चाल्नुपरेको बताए । सरकार र पार्टीमा एकलौटी निर्णय गरेको भन्दै नेपालले ओलीको चौतर्फी विरोध गरेका थिए । मदन भण्डारी फाउन्डेशनको बाहानमा ओलीले चरम गुटबन्दी गर्दै आएको उनले बताए ।





