काठमाडौं, ६ असोज
कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपराबाट अवैध रुपमा ल्याउँदै गरेको करिब १० लाख ५० हजार रुपैयाँ बराबरको २४ वटा खसी बोका र गाडी सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ बस्ने २३ वर्षीय हरि प्रसाद चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले चलाएको लु.१ च ८०४५ नम्बरको पिकअपलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब २ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको उक्त खसी बोका र ८ लाख ५० हजार रुपैयाँ मूल्य बरारको उक्त गाडी फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई बरामद खसी बोका र गाडी सहित आवश्यक कारबाहीका लागि सुठौली भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा ना.८ ख ७६७२ नम्बरको बसबाट ५७ थान विभिन्न कम्पनीका मोबाइल मंगलबार दिउँसो वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि झोलामा बिल नभएको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















