१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।
बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले भने पुल उद्घाटनको विरोध गर्दै राष्ट्रिय युवा संघलगायतले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको र झडपको सम्भावना भएको भन्दै पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।
बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न भनेका छन्।
नेता पौडेल, प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ । त्यस क्रममा तत्कालिन संविधान सभा सदस्य रामचन्द्र पोखरेललगायतका केही घाइते भएका ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिए ।















