काठमाडौं, साउन १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता घटनाको तत्काल निष्पक्ष छानबिन गरी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने वा निर्भीक पत्रकारितामाथि असर पार्ने उद्देश्यबाट गरिने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा लोकतन्त्र, विधिको शासन तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको जनाउँदै नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको संरक्षणमा पार्टी दृढ रूपमा उभिएको बताइएको छ।
रास्वपाले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगको भूमिकालाई संकुचित पार्ने प्रयास अस्वीकार्य रहेको स्पष्ट पारेको छ। स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका सबै गतिविधिको पार्टीले भर्त्सना गरेको छ।
पार्टीले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा रास्वपाले सम्पूर्ण सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।


















