विमान दुर्घटनाले पारेकाे असरकै बीच मन्त्रिपरिषद् विस्तार … ?

29

काठमाडौं । मुलुक आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटनामा भएकाे मानवीय क्षतिका कारण शोकमा छ । पोखरामा भएकाे विमान दुर्घटनाबाट शाेकसन्तप्त परिवारजनले शाेकमग्न स्थितीबाट उम्किन नपाउदै हतारमा गरिएकाे मन्त्रिमण्डल विस्तारले विमानस्थलको कमजोरीको रहस्य खुल्न सक्ने भएपछि चिनियाँ राजदूतकाे इशारामा यस मुद्दालाई डाइभर्ट गर्न रणनीतिक रुपमा हतार हतार मन्त्रिमण्डल विस्तार गर्न लगाइएकाे चर्चा हुन थालेकाे छ । 

सोमबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ राजदूत चेन सोङले मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिएका थिए । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । बालकोटमा पाँच घण्टा छलफल गरेर मन्त्रिमण्डलको भागवण्डा टुंग्याएका थिए । देशलाई शोकमा राखेर सत्ता गठबन्धनका नेताहरु दिनभर बसेर हतार हतार मन्त्रिमण्डलकाे विस्तार गरेकाे बताइएकाे छ । 

तस्विर नेपालपाना

पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलकाे कमजाेरीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गर्न थालिएकाे छ ।

विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडान बिना नै भएकाले प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय मान्यता पाउनेमा नै शंका उब्जिएको छ । अन्तर्राष्ट्रिय मान्यता नपाएपछि आन्तरिक उडानमै सीमित गरिएको छ । पुरानै विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय भनेर हतार हतार सञ्चालनमा ल्याइएको विमानस्थलमा आन्तरिक उडान सिफ्ट गरिएको छ ।

विमानस्थलको सुरक्षाप्रति पनि प्रश्न कायमै छ । चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा तयार नहुँदै प्रचण्ड प्रधानमन्त्री बने लगत्तै चिनियाँ जोडबलमा हतारमा उद्घाटन गरिएको थियो । विमानस्थलको सुरक्षा संयन्त्रबारे उद्घाटनकै बेला प्रश्न उठेको थियो । 

विमानस्थल उद्घाटनको दिन पुस ७ गते डेमो फ्लाइट गरेपछि यति एयरका वरिष्ठ पाइलट कमल केसीले एयरपोर्टको मापदण्डमाथि प्रश्न उठाएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै पाइलट केसीले ‘रनवेको लम्बाइ यहाँको छोटो छ । यहाँको ८ हजार जति फिट छ, १० हजार जति हुनुपर्छ । वरपरको डाँडाले गर्दा डिस्टर्ब छ । अलिकति गाह्रो छ ।’ एयरपोर्टमाथि प्रश्न उठाएका पाइलट केसीले आइतबार बिहान दुर्घटनामा परेर ज्यान गुमाए ।  

पोखराको रिठ्ठे डाँडा काट्नुपर्ने बाँकी हुँदै हतार हतार अन्तर्राष्ट्रिय एयरपोर्ट चलाउँदा आलोचना भइरहेकै बेला जहाज दुर्घटना हुँदा विमानस्थलमाथि देशभित्र आम जनता र अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठिरहेका बेला चिनियाँ दबाबमा हतारोका बीच मन्त्रिमण्डल विस्तार गरेर ध्यान मोडिएको विज्ञहरु बताउँछन् । 

त्यसमा पनि चीनले पोखरा एयरपोर्टलाई बीरआरआई अन्तर्गतकै परियोजना भनेर दाबी गरेकाले आशंका बढेको छ । चिनियाँ एक्जिम बैंकको महंगो ब्याजदरमा बनेको एयरपोर्ट बीआरआई अन्तर्गतकै परियोजनामा रुपान्तरण भए भोलिका दिनमा नेपाल श्रीलंका र पाकिस्तानको बाटोमा अग्रसर हुने चिन्ता विज्ञहरुले गरेका छन् । नेपालपाना