चिनियाँ नाकामा समस्याः फाट्ट फुट्ट मात्र नेपाल भित्रिन्छ सामान

50

काठमाडौं – पछिल्लो समय कोभिड–१९ मत्थर हुँदै गएपछि अन्तरदेशीय व्यापार पुरानै लयमा फर्किन थालेको छ । नेपालको अरु देशसँगको व्यापारले पुरानै लय समातिसक्दा पनि चीनसँगको व्यापारले भने गति लिन भने सकेको छैन् ।   

चीनसँगको मुख्य नाका रसुवा र सिन्धुपाल्चोकको तातोपानी नाका औपचारिक रुपमा खोलिएको भनिएपनि निर्वाध रुपमा सामानको ओसार प्रसार हुन सकेको छैन । व्यापारीहरूका अनुसार अहिले पनि चीनियाँ पक्षले नियन्त्रित रुपमा नाका सञ्चालन गरिराखेका छन् । अहिले चीनियाँ नाकाबाट फाट्टफुट्ट मात्र सामान भित्रिइरहेको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार दैनिक १४ वटा कन्टेनर आउन दिने भनिएपनि अहिले औसतमा दैनिक सातवटा कन्टेनर मात्र नेपाल भित्रिएको छ । कोभिड अघिको समयमा रसुवास्थित नाकाबाट दिनहुँजसो १०० ट्रक सामान नेपालतर्फ आपूर्ति हुने गरेको थियो ।

यता सिन्धुपाल्चोकको तातोपानी नाकामा भूकम्प अघि सम्म दैनिक सयौँको संख्यामा कन्टेनर आउने गर्थे । तर अहिले औसतमा दैनिक आठदेखि १० वटा कन्टेनर मात्रै आउने गरेका छन् । दुई देशबीच व्यापारलाई प्रोत्साहन दिनका लागि तातोपानीमा सुक्खा बन्दरगाह पनि निर्माण गरिएको छ । 

तर पूर्वाधारसँग व्यापारको तुलना गर्ने हो भने पछिल्लो अवस्था सन्तोषजनक नरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम स्वीकार्छन् । एक चीनियाँ कन्टेनर सामानले नेपाल तर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । 

व्यापारीहरूका अनुसार तातोपानी र रसुवा दुवै नाकाबाट तयारी पोसाक, जुत्ताचप्पल, विद्युतीय उपकरणलगायतका सामग्री ठूलो परिमाणमा भित्रिन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले चीनबाट २.२६ खर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको सरसामान आयात गरेको छ । उक्त अवधिमा नेपालले जम्मा ६७ करोड ४४ लाख रुपैयाँको सामान निर्यात गरेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीका अनुसार चीनियाँ पक्षले नेपालको चासोमा सधैँ सकारात्मक जवाफ दिने गरेको छ ।

भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए तापनि चीनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन । चीनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी भने मारमा परेका छन् । चीनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा आउनुपर्ने सामग्री समयमा आउन नसकेको व्यापारीहरू बताउँछन् । नेपालचीनबीचको दुईवटै नाका लामो समयदेखि पूर्ण रूपमा चल्न नसक्दा व्यवसायी नै पलायन हुन थालेका छन् । 

नाकाको सकसः आत्महत्यासम्मका घटना 
अहिले तातोपानी र केरुङ नाका आंशिक रूपमा मात्रै चलिरहेका छन् । जसले गर्दा नेपाली व्यवसायीले चीनबाट किनेर मगाएका सामग्री लामो समय सम्म अलपत्र पर्ने गरेको नेपाल–चीन उद्योग वाणिज्य संघले जनाएको छ । समयमा नै चीनबाट सामान नआउँदा र नाका पूर्ण रुपमा सञ्चालन नहुँदा व्यापारी–व्यवसायीहरू टाट पल्टिन थाल्लेका छन् । त्यस्तै, दैनिक रुपमा व्यापार घाटा व्यहोरिएका व्यापारीहरुमा मानसिक चिन्ता एवं विचलन देखा परेको छ ।  

मालसामानहरू समयमा नेपाल ल्याई बिक्री–वितरण गर्न नसकेमा व्यवसाय नै धराशायी भई पलायन हुनुपर्ने अवस्था रहेको भन्दै नेपाल–चीन उद्योग वाणिज्य संघले विज्ञप्ती नै जारी गरेको थियो । लामो समयसम्म सामान रोकिँदा व्यवसायीले आत्महत्या गरेको सम्म घटनासम्म बाहिर आएका छन् । काठमाडौंको पेप्सीकोला बस्ने व्यापारी हरेराम पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् । चीनबाट आयात गरिएका सामान लामो समय बाटोमै अड्किएपछि व्यापार ठप्प हुँदा उनी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरुको दाबी छ । 

यसबाहेक तातोपानी र रसुवागढी दुबै नाकाबाट सामान जाँचपास गराउन चीनियाँ एजेन्टले घुस माग्न थालेको गुनासो समेत भन्सार कार्यालयमा आउन थालेका छन् । त्यतिमात्रै होइन, सहज रुपमा सामान आउन नसक्दा ढुवानी खर्चमा समेत अस्वभाविक वृद्धि भएको छ । यसबाहेक व्यापारिक कारोबार नभएपछि नाकासँग आबद्ध ५ हजार भन्दा बढी मजदुरको रोजीरोटी पुर्ण रुपमा गुमेको छ ।