कम्युनिष्टहरुले गरिब शब्द र खोक्रो राष्ट्रवाद घोकेर अघि बढे: महामन्त्री खनाल

74

बर्दघाट

संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले कम्युनिस्टहरु गरिब शब्द घोकेर गरिबका नाममा राजनीति गरेर अघि बढेको तर्क व्यक्त गर्नु भएको छ।

महामन्त्री खनालले कम्युनिस्टहरुले साढे तीन वर्ष झन्डै दुई तिहाई बहुमतको सरकार चलाए तर २०७४ देखिको तथ्यांक हेर्ने हो भने नेपाल झनै गरिब मुलुकको रुपमा देखियो । गरिबका लागि राजनीतिक गर्ने कम्युनिस्ट नेताहरु झन सम्पन्न हुँदै गए ।

नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिको कार्यालयकाे उद्घाटन समारोहमा बोल्दै महामन्त्री खनालले कम्युनिस्ट नेतृत्वको सरकारले भारतको विरोध गरेर मात्रै राष्ट्रियता बच्छ भन्ने खालको खोक्रो रास्ट्रवाद देखाउन खोजेको आरोप लगाउनु भयो।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य विश्वप्रेम पाठकले बर्दघाट नगरपालिकाले आम जनताको आधारभुत आवश्यकता र जनताको आवश्यकतालाई प्राथमिकतामा नराखी घण्टाघर, भ्यु टावर जस्ता संरचना निर्माण गर्दै सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनु भयो।

कार्यक्रममा बोल्दै नगर सभापति दामोदर जिसीले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बर्दघाट नगरपालिकाको नेतृत्वमा पुर्याउन सबै कार्यकर्ता र नेतृत्व एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा विभिन्न दल त्यागी ६० जना नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेस गरेका छन् । कार्यक्रममा काङ्ग्रेस नेता शम्भुलाल श्रेष्ठ, जिल्ला सचिव उमेश चन्द्र यादव, सचिव सन्तु गाहा लगायतको उपस्थिति रहेको थियो।