नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
रामग्राम नगरपालिका–२ दुर्गाटोलका १९ वर्षीय सारुक कुरैसी पक्राउ परेका हुन्। प्रहरीले २०८२ साल असोज ५ गते साँझ करिब ४ बजे सूचना प्राप्त भएपछि खटिएको टोलीले दुर्गाटोलस्थित उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ONEREX 100 ml लेखिएका १०७ बोतल, NITRAZEPAM Tablet 10 mg का ६०३ थान र PROXYCO SPAS लेखिएका ३,९४२ क्याप्सुल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद भएको लागुऔषधसहित कुरैसीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।















