सुनवलका गाउँहरुमा कुकुर आतंक

68

पप्पु रेग्मी, बर्दघाट,

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको विभिन्न गाउँहरुमा कुकुरको समुहले बाख्रा खाएपछि गाउँमा कुकुर आतंक मच्चिएको बताईएको छ ।

पछिल्लो दुई हप्ता देखी सुनवल नगरपालिकाका विभिन्न गाउँहरुमा छाडा कुकुरको समुहले विभिन्न गाउँहरुमा सामुहिक रुपमा जाने र बाख्राहरुलाई आक्रमण गर्ने गरेको सुनवल नगरपालिकाका वार्ड नम्बर ३ निवासी पशु सेवा विज्ञ विमल ढकालले बताए ।

सुनवल नगर पालिकाको क्रमशः वडा नम्बर २ को मुखीया टोल, वडा नम्बर ५ को बनकटटी, वडा नम्वर ६ को तिलकाना, लगायतका गाउँहरुमा कुकुरको एउटा समुहले गाउँलेका बाख्राहरु खान थालेपछि सुनवलका गाउँहरुमा कुकुर आतंक मच्चिएको हो ।

बाख्राको वरिपरि मानिसहरुलाई नदेखेपछि छाडा कुकुरको समुहले बाख्राहरुलाई टोकेर घाईते बनाउने र बाख्रा ढलेपछि बाख्राको पेट जस्तो नरम भागको मासु निकालेर खाने गरेको स्थानीय पशुसेवा विज्ञ ढकाले बताए ।

सुनवल नगर पालिका वार्ड नम्बर ६ का डोर बहादुर कुँवरका ५, पंचराम कुँवरको १२, सुनवल वार्ड नम्बर २ का हरिलाल गुप्ताका ३, यसै गरी वार्ड नम्बर ५ को बनकठ्ठीमा बस्ने अम्बिका कुँवरको ३ वटा लगाएत गरी अहिलेसम्म करिब दुई दर्जन भन्दा बढि बाख्राहरुलाई कुकुरहरुको समुहले आक्रमण गरि मारेको स्थानीयले बताएका छन ।

सुनवल नगरपालिकाका विभिन्न गाउँहरुमा कुकुरको एउटा समुहले बाख्राहरु माथि लगातार आक्रमण गरी गाउँमा आतंक नै मच्चाई रहदा सुनवल नगरपालिकाका पशु सेवा शाखा प्रमुख मिश्री प्रसाद खडकाले आफुहरु यस विषयमा अनभिज्ञ रहेको बताए ।