मन्त्री यादवसँग सोधपुछ गर्यो मानव अधिकार आयोगको टोली

16

काठमाडौँ, २० माघ ।

राष्ट्रिय मानव अधिकार आयोगले हिंसा भड्काउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवसँग सोधपुछ गरेको छ ।

आयोगले बिहीबार आफ्नै कार्यालयमा बोलाएर मन्त्री यादवसँग पुस ७ गते गौरमा दिएको अभिव्यक्तिबारे प्रष्टिकरण लिएको हो । जवाफ मन्त्री यादवले आफूले अनियन्त्रित अभिव्यक्ति दिएको स्वीकार गर्दै आइन्दा यस्तो हुने प्रतिबद्धता जनाएकी छन् ।

आयोगले भनेको छ, ‘जानकारी लिने क्रममा मन्त्री यादवले श्रद्धान्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको जानकारी गराउनुभयो ।’

गौरमा आयोजित कार्यक्तममा मन्त्री यादवले नजमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकण्डा मच्चाउने अभिव्यक्ति दिएकी थिइन् । यादवको कुरा सुनेपछि आयोगले आइन्दा यस्ता अभिव्यक्ति नदिन भनेको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने, ‘जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो ।’