काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको दुई वटा स्कुलको उद्घाटन भएको छ ।
कपिलवस्तुको महाराजगञ्ज-९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन गरिएको हो ।
नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका थिए ।
दूतावासका अनुसार भारत-नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको ५ करोड ९२ लाख लागतमा यी परियोजनाहरु सम्पन्न गरिएको हो ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया७५ आजादीका अमृत महोत्सव’कै एक हिस्साको रुपमा उद्घाटन गरिएको दूतावासले जनाएको छ ।
शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तुको सबैभन्दा पुराना विद्यालय हुन् । शिवभरीमा सात सय र जानकीमा १३ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।





