
इस्लामाबाद । पाकिस्तानमा राजनीतिक उथलपुथल बढ्दै जाँदा अधिकारवादी समूहहरूले देशमा प्रजातान्त्रिक संस्थाका नेतृत्वबाट नै नयाँ खतराको सिर्जना भएको बताएका छन्।
विपक्षी राजनीतिक दलहरूले यसै महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हटाउन संसद्मा अविश्वासको प्रस्ताव राखेका थिए। अविश्वासको प्रस्तावपछि सरकारी अधिकारीहरूले हिंसाको धम्की दिएर प्रतिक्रिया दिँदै सांसदका दुई सदस्यलाई छोटो समयका लागि हिरासतमा लिए।
सरकारी अधिकारीहरूको ज्यादतीले स्थिति थप खतरनाक हुने जोखिम बढेको देखिएको छ। पाकिस्तानको संविधान अनुसार राष्ट्रिय सभाका बहुमत सदस्यहरूले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा प्रधानमन्त्रीले पद छोड्नुपर्छ। सरकारले यही चैत २८ गते अविश्वासको प्रस्तावमाथि मतदान गर्ने घोषणा गरेको छ।




