पसल बन्द, भाडा जारी

83

रसुवा — तिब्बतको केरुङबाट घरभेटीको फोन आयो कि गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुका फुर्पा छिरिङ तामाङलाई तनाव भइहाल्छ । फोनमा उही पुरानो रटान दोहोरिन्छ, ‘कि सटर खाली गर्दिनू, कि खुरुक्क भाडा तिर्नू ।’ सटर खाली गर्न उनी केरुङ जान सक्दैनन्, किनभने आवतजावत बन्द छ । भाडा तिर्न उनीसँग पैसा छैन, किनभने व्यापार चौपट छ । के गरूँ के नगरूँ ? दोसाँधमा पर्छन् । त्यसै निन्याउरिएर बस्न बाध्य हुन्छन् ।

कोभिड–१९ देखा परेपछि रसुवागढी नाकाबाट आवतजावत बन्द हुँदाको पहिलो महिनादेखि सुरु उनको हैरानी दुई वर्ष पुगिसक्दा पनि उस्तै छ ।

भूकम्पपछि खुलेको केरुङ नाकामा चमकधमक बढेपछि अरू थुप्रै नेपाली व्यापारीले झैं उनले पनि चीनमा घर भाडामा लिएर पसल खोलेका थिए । नाका चलुन्जेल व्यापारले मनग्यै आम्दानी दिएको थियो । तर अचानक सुरु महामारीले नाका बन्द भएसँगै उनी पसलमा ताला लगाएर नेपाल फिरे– २०७६ पुस १ गते । त्यसयता व्यापार गर्न उता जान सकेका छैनन् । केही दिनमा खुल्ला भनेको नाका दुई वर्ष हुँदा पनि बन्दै छ । तर भाडा महिनाकै एक लाख साठी हजारभन्दा बढी नतिरी सुख छैन फुर्पालाई । ‘एक वर्ष त ऋण गरेर भने पनि भाडा तिरियो,’ उनले सुनाए, ‘अब त कुनै जुक्तिले पनि पैसा जम्मा गर्न नसकिने अवस्था छ, कसरी तिर्नु तेत्रो भाडा ?’ उता, बैंकबाट लिएको किस्ता तिर्न नसक्दा बैंकले फोन गरेर हैरान छन् उनी ।

आम्दानी शून्य भएपछि वर्ष दिनयता घरभाडा तिर्न नसकेको उनले बताए । लामो समय भाडा तिर्न नसक्दा करोडौंको सामान घरभेटीले जफत गर्ने हो कि भन्ने चिन्ताले रातमा निदाउन पनि सक्दैनन् । ‘सके घरभेटीले पसलका सामान जफत नै पो गरि सक्यो कि ?’ उनले दिकदारी पोखे, ‘के कस्तो हालतमा छ, हेर्न जानसमेत पाइएन ।’

पहिले केरुङसम्म सडक नपुग्दा उनी भेडाच्यांग्रा, जिम्बु, ऊनलगायत व्यापार गर्थे । केरुङदेखि नै भरियालाई बोकाएर लौजान्थे । केरुङमा बसेर व्यापार थालेको ९ वर्ष भयो । यातायातको पहुँच पुगेपछि उतै बसेर व्यापार गर्न थाले । केरुङमा बसेर व्यापार गर्न रसुवाका स्थानीय बासिन्दालाई पहुँच भएकाले सहज छ  । किनभने, जिल्लावासीलाई केरुङसम्म पुग्न सीमा परिचयपत्रको व्यवस्था चीनले नै गरेको थियो, जुन हरेक वर्ष नवीकरण गर्नुपर्छ ।