काठमाडौं, २४ भदौ २०८२ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ। भदौ २३ मा Gen Z समूहले आयोजना गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ विद्यार्थीको मृत्यु र सयौं घाइते भएको घटनाप्रति दुख व्यक्त गर्दै महासंघले यो कदम चालेको हो।
महासंघले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सरकारसँग घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र शान्ति-सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। महासंघले आफ्ना सबै सदस्य सङ्घ, समिति, कम्पनी र प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न अनुरोध गरेको छ।
हालको हिंसात्मक घटना र काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कर्फ्यु लागू भएकाले जनजीवन प्रभावित भएको छ। यस्तो असहज परिस्थितिमा सार्वजनिक यातायात र मालवाहक सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै महासंघले सरकारबाट शान्ति-सुरक्षाको प्रत्याभूति नहुँदासम्म यातायात सेवा बन्द राख्ने निर्णय गरेको छ।
महासंघले आफ्ना सबै सदस्यहरूलाई यात्रुवाहक र मालवाहक सवारी साधन सञ्चालन नगर्न र शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराउन आह्वान गरेको छ।
















