पश्चिम नवलपरासीमा गाउं पसेकाे बाघले गरेकाे आक्रमणमा परी ३ जना स्थानीय घाइते भएका छन् । घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरीले जनाएकाे छ ।
पाल्हीनन्दन गाउँपालिकाकाे वडा नं. ४ बैरवाँ स्थित आंप र बांसघारीको बगैचामा बाघले पञ्जा प्रहार गर्दा गजेन्द्र कोईरी, सम्पत भर र कमल धाेबी घाइते भएका हुन् । विहिवार बाघकाे आक्रमणमा परि पाल्हीनन्दन गाउँपालिका -४ बैरवाँ घर भएका ४५ वर्षे काेइरीकाे मुख नाक र ओठमा चाेट लागेकाे छ भने वडा नं. ६ लंगडीपाकण का १८ वर्षे सम्पत भरकाे खुट्टामा चाेट लागेकाे र सुनवल नगरपालिका ९ स्वाठीका ४२ वर्षे कमल धाेबी घाइते भएका छन् ।
घाईते सबैजना पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार पश्चात घर फर्केकाे प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन् ।
प्रहरी चौकी गेर्मी र वन कार्यालय परासीकाे प्राविधिक सहितको टोली त्यस तर्फ प्रस्थान गरिसकेको तथा समाचार लेख्दासम्म बाघ फेला नपरेकाेले स्थानीय क्षेत्रमै लुकेर बसेकाे हुन सक्ने डरले गाउंमा त्रास फैलिएकाे छ । स्थानीयले हिंसक जनावर चितुवा हुनसक्ने अनुमान गरेका छन् ।





