त्रिशूली नदीमा कार खस्यो: १ जना घाइते, ३ जना बेपत्ता

26

असाेज ८, काठमाण्डौ ।

गएराति पौने २ बजेतिर काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएको  छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका-१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।