पप्पु रेग्मी, २० माघ बर्दघाट।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिका भित्रका नागरिककाे घरमा छाेरीकाे जन्म भए घर परिवारलाई पच्चीस हजार रकम अनुदान दिने भएको छ ।
छोरी बचाऊँ, छोरी पढाऊँ, भन्ने अभियान संचालन गरि रामग्राम नगरपालिकाले नगरपालिका भित्र जन्मने छोरीहरुका परिवारलाई २५ हजार रुपियाँ रकम बैंकमा जम्मा गरिदिने निर्णय गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताऊनु भएको छ ।
तराई मधेश क्षेत्रमा रहेको रामग्राम नगरपालिकामा अधिकांश तराई मुलका मानिसहरुको बसोबास रहेको अवश्थामा यहाँको समाजमा छोरी प्रति अलि नकारात्मक भावना रहेको हुनाले छोरीको शिक्षाको क्षेत्रमा एउटा जागरण ल्याउने उद्देश्यका साथ नगरपालिकाले छोरी बचाओैँ, छाेरी पढाओैँ भन्ने अभियान शुरु गरेको रामग्राम नगरपालिका नगर प्रमुख गुप्ताले बताउनु भयो ।
रामग्राम नगरपालिका भित्र गत साउन १ गते देखी यता जन्मेका सबै छोरीहरुको घर परिवारहरुलाई नगरपालिकाले २५ हजार रुपियाँ रकम बैंक खातामा राखीदिने ब्यवस्था मिलाईएको बताईएको छ । छोरी जन्मेको परिवारका लागि छोरीको जन्म दर्ता प्रमाण पत्र एवं अविभावकको नागरिकता पेश गर्नुपर्ने छ ।
छोरी र छोरीको अविभावकको संयुक्त नाममा बैंकमा मुद्ती खातामा यो रकम जम्मा हुनेछ भने यो रकम छोरी बालिग भएपछि मात्र निकाल्न पाईने प्रावधान रहेकाे छ । घरमा छोरीको जन्म भए पछि परिवारले जन्म दर्ता गरि छोरी र अविभावकको संयुक्त नाममा बैंकमा खाता खोली खाता नम्बर नगरपालिकालाई दिए पछि यो रकम बैंकको खातामा छोरीको नाममा जम्मा हुने ब्यवस्था गरिएको छ ।





