छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु   

103

काठमाडौं, १६ कात्तिक

सर्लाही, कैलाली, मकवानपुर, रौतहट, दाङ र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

सर्लाही, धनकौल गाउँपालिका-१ सेखौनास्थित सडकमा प्र.२-०२-००१ ब ५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामनगर गाउँपालिका-३ बहुअर्वा बस्ने ४० वर्षीय मुन्ना पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेन्स अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा बा.१६ च ५३४९ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीया अनिता डगौराको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबार गम्भीर घाइते भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने बस्ने ३५ वर्षीय जगराम डगौरा लगायत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, मनहरी गाउँपालिका-९ अधेरीस्थित सडकमा ना.६ ख ५६३१ नम्बरको डिब्बा वाला ट्रकलाई ग.१७ प ५७१६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लम्जुङ साविक श्रीमञ्जाङ् गाविस-८ बस्ने २१ वर्षीय आवश घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएको उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुर, भिमफेदी गाउँपालिका-२ चुनियास्थित सडकमा बागमती प्रदेश ०१०२५ च ५३९५ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय फिट तल खसेर सोमबार साँझ दुर्घटना हुँदा कारमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज बस्ने २५ वर्षीय सुसान्त मगरको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते कार चालकको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

रौतहट,  गढिमाई नगरपालिका-६ वाग्मती पुलस्थित सडकमा ज.७ प ३१४२ नम्बरको मोटरसाइकल पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही धन्कौल गाउँपालिका-७ बस्ने ३५ वर्षीय राम निवास यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, गढवा गाउँपालिका-२ महादेवा पुलमा रा.१ प ६३४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ घुस्रा बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-१० बागझोडास्थित सडकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा सोही ठाउँ बस्ने ७० वर्षीय चेप्टा दनुवारको मृत्यु भएको छ । प्रदेश नम्बर १-०२-००३ ह १५७९ नम्बरको अटो अनियन्त्रित भई ठेलामा ठोकिँदा ठेला नजिक बसिरहेका दनुवारलाई समेत लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय सुकुना सामुदायिक अस्पताल बिराटचौक हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका ठेला चालक सोही ठाउँ बस्ने ५८ वर्षीय सिलानन्द साहको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।