पप्पु रेग्मी, बर्दघाट | २४ जेठ २०८२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित चिसापानी सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट–३ कर्मैयाका रोहित मुसहर परिवारलाई २ कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरेको छ।
शनिबार आयोजित एक विशेष कार्यक्रममा समूहका अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा घर हस्तान्तरण गरिएको हो।
घरको उद्घघाटनपछि नगर प्रमुख श्रेष्ठले चाबी रोहित मुसहरलाई हस्तान्तरण गर्दै, चिसापानी सामुदायिक वनलाई नगरभित्रको उत्कृष्ट वन भन्दै खुलेर प्रशंसा गर्नुभयाे । उहाँले, “आफ्नो आम्दानीको केही हिस्सा विभिन्न संघ संस्था, चिसापानी क्यान्टिनमा फर्निचर दिने लगाएतकाे समाजसेवामा खर्च गरेर चिसापानी वनले शिक्षा, स्वास्थ्य र विपन्न वर्गको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ।” भन्नुभयाे ।
कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले संविधानले सुनिश्चित गरेका आधारभूत हकहरू कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको भन्दै सामुदायिक वनहरूसँग सहकार्य गरेर आगामी बजेटमा अझ प्रभावकारी योजना ल्याइने बताउनुभयो।
भवन निर्माण समितिका संयोजक प्रेम भुजेलका अनुसार घर निर्माण कार्यमा कुल ६ लाख ४० हजार रुपैयाँ खर्च भएको बताउनुभयो ।
वडाध्यक्ष प्रकाश चन्द अधिकारी, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमल परियार, निर्माण समिति सदस्य सरस्वती सुनार लगायतले विपन्न वर्गका लागि घर निर्माण जस्ता कार्य सामाजिक न्यायको अभ्यास भएको धारणा राखे।
चिसापानी सामुदायिक वनले यस अघि सरावल–६ मधौलीयामा १ घर, बर्दघाट–२ मा १ घर, १२ मा १ घर र वडा नम्बर ३ मा १ घर गरी ४ वटा पक्की घर निर्माण गरिसकेको अध्यक्ष हाेम बहादुर गुरूङले बताउनुभयो । हालसम्म चिसापानी वन समूहले ४ विपन्न परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको छ। समूहमा हाल करिब ३,३५० घरधुरी रहेकाे छ भने १८,००० उपभोक्ता सदस्य रहेकाे संस्थाका अध्यक्ष गुरूङले बताउनुभयो ।
नव–निर्मित घर पाएका रोहित मुसहर दम्पतीले वर्षौं अरूकै घरमा आश्रित भएर बस्नु परेको पीडा सुनाउँदै, अब आफ्नै घरमा बस्न पाउँदा अत्यन्त हर्षित भएको बताए । साथै, नव निर्मित घरमा विद्युत् र खानेपानी जडानका लागि सम्बन्धित निकायसँग सहयोगको अनुरोध गरेका छन् ।















