अमेरिकी उपमन्त्री उज्रा जिया जावलाखेलको तिब्बत क्याम्प छिर्दा बेइजिङको सातो गयो

90

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार तथा तिब्बत मामिला हेर्ने उपमन्त्री उज्रा जियाले काठमाडौं आएर तिब्बती क्याम्प प्रवेश गरेपछि चीनको खैलाबैला भएको छ । 

जियाले शनिबार जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी थिइन् । जियाको भ्रमणपछि बेइजिङले कडा आपत्ति जनाएको छ ।  

जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।

परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो । उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् । 

नेपालमा जियाको भ्रमणलाई लिएर चीन असन्तुष्ट बनेको हो । गत बुधबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री आउनुअघि नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेकी थिइन् । 

अमेरिकी अधिकारीको भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधि र शान्ति सुरक्षाको विषयमा उनले ध्यानाकर्षण गराएकी थिइन् । यसका बाबजुद अमेरिकी उपमन्त्री तिब्बतीहरुको हालखबर बुझ्न पुगेपछि चीन आत्तिएको हो ।