हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण

44
file pic

काठमाडौं।

            काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

            दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।

            गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३ सय १४ थान  सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो । जसमध्ये साउनमा ७३ थान, भदौमा ४० थान, असोजमा ३० थान, कात्तिकमा १४ थान, मंसिरमा ३७ थान र पुसमा ५१ थान सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो । साथै माघ महिनामा मात्र ४३ थान सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।

             साथै यस आर्थिक वर्षमा २४ थान चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

            काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न अनुरोध समेत गर्नुभएको छ ।