लुम्बिनीमा आयाेजन गरिएकाे ९१२औं रामकथा तिब्र विराेधपछि स्थगित गरिएको छ । रामकथा अयोजक समितिले यहि माघ २१ गतेदेखि माघ २९ गतेसम्म सञ्चालन हुने भनेर तय गरेकाे कार्यक्रम स्थगित गरिएकाे जनाएकाे हाे ।
रामकथा लुम्बिनीमा नगराउन धर्मोदय सभाले जिल्ला प्रशासन कार्यालय रुपन्देही र लुम्बिनी विकास कोषमा ज्ञापनपत्र दिए लगतै विभिन्न बोध संघसंस्थाले विरोध जनाएको थारु बोध समाजका अध्यक्ष गोकुल थारुले बताए ।
धर्मोदय सभाको साथै थारु बोध समाज, मगर बोध समाज लगायत एक दर्जन बोध संघसंस्थाले लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाएर विरोध गरेका हुन्। लुम्बिनी विकास कोषले रामकथाको बारेमा दुबै पक्षलाई केही निर्णय प्रष्ट दिन नसकेको बुझिएको छ । कोषलाई निल्नु, नओकल्नु भएको छ ।
विभिन्न देशमा सञ्चालन हुदै आएकाे अन्तराष्ट्रिय स्तरकाे रामकथा नेपालकाे लुम्बिनीमा सन् २०२० मा नै सञ्चालन गर्ने तयारी गरिएकाे थियाे तर काेभिड संक्रमणका कारण स्थगित हुन पुगेकाे थियाे । सन् २०२० काे २ मे देखि १० मे सम्म सञ्चालन गर्ने भनिएकाे कार्यक्रम स्थगित गरिएपछि पुनः अहिले सञ्चालनकाे सम्पुर्ण तयारी पुरा गरिएकाे थियाे । नेपालमा पनि जनकपुर लगायत अन्य स्थानमा याे रामकथा सञ्चालन गरि सकिएकाे छ ।
अहिलेकाे पटक यसरी विराेध हुनु र बाधा उत्पन्न गर्न खाेज्नुकाे पछाडि स्थानीय अायाेजक काेही नभएर पनि हुन सक्ने अनुमान गरिएकाे छ । कार्यक्रम सम्पन्न हाेवाेस् भनेर स्थानीयवासीकाे पनि उतिकै चाहना रहेकाे देखिन्छ । स्थगन गरिएकाे रामकथाका लागि आयाेजकले यहि माघ २४ गतेदेखि फाल्गुन ३ गतेकाे लागि पुनः मिति तय गरेकाे छ ।
रामकथाकाे विराेध स्वरूप ज्ञापन पत्र दिएर भावना व्यक्त गरेका केहि संघसंस्थाहरूकाे व्यवहार प्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देख्न पाइन्छ ।
रामविकास चाैधरीले सामाजिक सञ्जाल फेशबुक मार्फत लुम्बिनी बचाउ संघर्ष समितिकाे तर्फबाट भनेका छन्ः लुम्बिनी हिन्दु भूमि हो । हिन्दु भूमि साझा रहन्छ । रामकथा रोकेर हिंसा भड्काउने प्रयत्न नहोस । नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीले लुम्बिनीमा हुने रामकथाको बिरोध गर्दै बुटवलमा पत्रकार सम्मेलन गरेको छ । यसअघि धर्मोदय महासभाले पनि प्रेस विज्ञप्ति मार्फत रामकथाको बिरोध गरेको प्रति हामी लुम्बिनीबासीको ध्यानाकर्षण भएको छ । अध्ययन गरियोस्, भगवान बुद्धको जन्मभन्दा ७ सय वर्ष पहिला पनि त्यहाँ मन्दिर थियो । कनिङ्घमको खोजले पनि त्यहाँ त्यसको रूइन्स फेला पारेकोले लुम्बिनी हिन्दुहरूको देवस्थल रहेको प्रमाणित तथ्य छ । भगवान बुद्ध हिन्दुहरूका पनि अराध्य हुन । तसर्थ लुम्बिनीलाइ राम मन्दिर र बाबरी मस्जिदको जस्तो विवादमा नल्याउन अनुरोध गर्दै त्यसो गरे दुष्टात्माहरूको अनिष्ट निस्चित छ, भन्नुभएकाे छ ।
विष्णु बहादुर बस्नेतले लुम्बिनी मायादेवी मन्दिरलाई सनातन हिन्दु तथा समग्र बौद्ध धर्मावलम्बीहरुको आस्थाकाे केन्द्रको रुपमा मानिन्छ, लुम्बिनीमा हुनलागेको रामकथाले लुम्बिनीलाई थप उर्जा दिन्छ जस्तो लाग्दछ, यस कार्यक्रमले लुम्बिनीका व्यवसायीहरु पनि उत्साहित देखिएका थिए तर अहिले केही अन्योल जस्तो देखिएको अवस्था हो, यस किसिमको कार्यक्रमले कसैलाई केही फरक पार्छ जस्तो त लाग्दैन, भगवान बुद्धले आफै भन्नू भएको कसैको निन्दा नगर्नु, वहांका प्रचारक संघसंस्थाले यसो गर्दा अल्लि नरमाइलो लागेको हो।
रामचन्द्र सेडाइले यस्ताे प्रतिकृया दिनुभएकाे छः रामकथा वाचन धेरै राम्रो कार्यक्रम हो तर यो कार्यक्रम जनकपुरमा आयोजना गर्न सक्छौँ । लुम्बिनीलाई बौद्ध धर्म र दर्शनमा आधारित शिक्षा, अध्यात्म र धार्मिक गतिविधिका लागि प्रवर्द्धन गर्नुपर्छ । के हामीले बोधगयामा कालचक्र जस्ता बौद्ध उत्सवहरू व्यवस्थित गर्न सक्दैनौं? के हामीले लुम्बिनीमा शाक्य मोनलामलाई पुनरुत्थान र निरन्तरता दिन सक्दैनौं? के हामीले अन्य अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र कार्यक्रमहरू आयोजना गर्न सक्दैनौं? लुम्बिनी र वरपरका व्यवसायी समुदायले पनि लुम्बिनीको महत्व र मूल विषयवस्तु अनुसार प्रवर्धन गर्नुपर्छ । आउनुहोस्, GBIA सञ्चालन गरौं, लुम्बिनीलाई प्रमुख बौद्ध बजारहरूमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गरौं, लुम्बिनीमा शान्ति, आध्यात्मिकता र योग र कल्याणकारी पर्यटन गतिविधिहरू प्रवर्द्धन गरौं। लुम्बिनीलाई तानसेन, ढोरपाटन, मुस्ताङ, डोल्पा, बर्दिया र चितवनसँग जोडौं । लुम्बिनीलाई कांक्रे विहार, दुल्लु, हलजी गोम्बा र कैलाश मानसरोवरसँग जोडौं। त्यसपछि हामीले पर्याप्त व्यापार पाउनेछौं। पर्याप्त व्यापार गर्न लुम्बिनीमा बुद्ध धर्मसँग सम्बन्धित गतिविधिहरू बाहेक अन्य आवश्यक पर्दैन। हो, हामीले हाम्रो भर्खरै स्थापित अन्तर्राष्ट्रिय सम्मेलन हललाई प्रवर्द्धन गर्नुपर्छ, तर लुम्बिनी र लुम्बिनी गुरुयोजनाको मूल हितसँग बाझ्नु हुँदैन।

