कृषकहरु मारमा परेका बेला कृषि तथा पशुपन्छी मन्त्री भने एनजीओको भत्ता पचाउँदै हिँडेका छन् । जनताको अधिकारका लागि भनेर आन्दोलन गरेर सरकारमा आएका जसपाका वरिष्ठ नेता समेत रहेका महेन्द्रराय यादवले किसानको समस्यामा आँखा चिम्लिएका छन् ।
खासगरी तराई मधेसका किसानहरु अहिले मर्कामा परेका बेला मधेसबाट उदाएका नेता यादव मन्त्री बनेपछि किसानलाई चटक्क बिर्सिएका छन् । जसका कारण किसानहरु आन्दोलित भएका छन् । सडकमा उत्रिएका छन् ।
आइतबार पनि तराईमा किसानहरुको समस्या समाधानको माग गर्दै जनमत पार्टी र किसान आन्दोलन संघर्ष समितिले घोषणा गरेको आमहडताल गरेका छन् । हड्तालका कारण पूर्वपश्चिम राजमार्गको सिराहा खण्ड बिहानैदेखि अबरूद्ध हुनुका साथै बजारहरु बन्द रहेका छन् ।
किसानहरुले आवश्यक मलखाद र बिउको माग गरेका छन् । किसानमाथिको दमन बन्द गर्न र मुद्दा फिर्ता गर्न पनि माग गरेका छन् । किसानहरु दिनदिनै आन्दोलित भइरहेका बेला यता मन्त्री यादव भने एनजीओका कार्यक्रममा भाषण गर्दै भत्ता पचाउँदै हिँडिरहेका छन् ।
एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियन लगायतले बुधबार जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए ।
कार्यक्रमको नाम किसान भेला दिइए पनि किसानका नेता तथा एनजीओकर्मीहरुको बोलवाला थियो । मंगलबार नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एशोसिएशन (नेम्भला) ले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री यादव सहभागी थिए ।
मन्त्रालयका कर्मचारीहरुका अनुसार मन्त्री यादवले एनजिओका कार्यक्रममा आफै रुची देखाउने गरेका छन् । उनको कार्यक्रममोहले मन्त्रालयको काम पनि प्रभावित भएको छ । उनी मन्त्रालयमा नबस्ने गरेको गुनासो कर्मचारीहरुको छ ।
मन्त्रालयभित्र र बाहिर किसानको समस्या हुँदा पनि मन्त्री यादव मस्तले डुलिरहेका छन् । काम गर्ने, किसानका समस्या समाधान गर्नेभन्दा पनि आफ्नो दुनो सोझ्याउने, कार्यक्रम मोह देखाउने जस्तो गैरजिम्मेवार हर्कतमा लागेका छन् ।