काठमाडौं, २७ असोज।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो भने अहिले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे ।

साफ च्याम्पियनसिप फुटबलकाे १३ औँ संस्करणमा आइपुग्दा नेपाल पहिलाे पटक फाइनलमा पुग्याे । आज बुधवार मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे ।

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । खेलको ७९ औँ मिनेटमा गाेलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनकाे ठाउँमा अशरफुल राना आएका थिए ।

आजकाे जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेकाे हाे । चार खेल खेलेकाे नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेकाे हाे । फाइनलमा पुग्न नेपाललाई आजकाे खेलमा कम्तीमा पनि बराबरीकाे नतिजा चाहिएकाे थियाे ।

आज हारेकाे बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियाेगिताबाटै बाहिरिएकाे छ । अब नेपालले फाइनलमा आज नै हुने अर्काे खेल (भारत र माल्दिभ्स) काे विजेतासँग खेल्नेछ ।

राेहितले गरे विराजकाे बराबरी

यसैबीच आजकाे खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । आजकाे खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।

राेहितकाे यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा राेहितलाई उनकाे कीर्तिमानलाई उछिन्ने माैका छ ।

नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।