Advertisement

काठमाडौँ — अमेरिकी सांसदको टोलीले नेपाल-अमेरिका सम्बन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । युक्रेनमाथि रुसी आक्रमणविरुद्ध एकमत निर्माण गर्ने क्रममा नेपाल आइपुगेको उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेपालका उच्चपदस्थ अधिकारीहरुसँगको भेटमा द्विपक्षीय सम्बन्धमा जोड दिएको हो । 

नेपालको तीन दिने भ्रमणमा आइतबार नयाँ दिल्लीबाट काठमाडौं उत्रिएका ५ सांसदले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायण खड्का र नेपाल–अमेरिका संसदीय मैत्री समूहका संयोजक मिनेन्द्र रिजालसँग द्विपक्षीय भेटवार्ता गर्‍यो ।

Advertisement

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली नेपाल आइपुगेको हो । नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । टोलीका अन्य सदस्यमा सिनेटरहरु शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फागुनमा अनुमोदन भएपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो । गत साता अमेरिकाबाटै पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउट एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ्गले नेपालको भ्रमण गरेकी थिइन् ।

अमेरिकी सांसदको टोलीले शनिबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा नेपाललाई एमसीसी परियोजना अनुमोदन गरेकोमा धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धलाई अघि बढाउनको लागि थप सहयोग गरिरहने प्रतिबद्धता जनाएको थियो । प्रधानमन्त्री देउवाका प्रेस चिफ गोविन्द्र परियारका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकी टोलीलाई नेपालको आर्थिक र सामाजिक क्षेत्रमा दिदै आएको सहयोगलाई लिएर धन्यवाद दिएका थिए । अमेरिकी सांसदहरुले भने नेपाल र अमेरिका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुध बनाउदै जाने पर्ने बताएका थिए । कान्तिपुरबाट

Advertisement