नगर प्रमुखको उद्घाटन मोह, आफै अध्यक्ष भएको संस्थामा आफै प्रमुख अतिथि

569

नवलपरासी चैत्र १४

पश्चिम नवलपरासी स्थित चिसापानी अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल साेही अस्पतालको भवन उद्घाटन कार्यक्रममा भने आफै प्रमुख अतिथि बनेर अस्पताल भवन उदघाटन गरे ।

नगर प्रमुखको प्रमुख अतिथि मोह अरु केहीका लागि नभएर अस्पातल भवन उद्घाटन गरी अस्पताल भवनको भित्तामा शिलालेखमा नाम राख्नका लागि भएको स्थानीय बताउँछन् । आफै अध्यक्ष भएको संस्थामा आफै प्रमुख अतिथि हुनुले नगर प्रमुखको प्रमुख अतिथि मोहलाई राम्रैसंग झल्काएको स्थानीयको भनाई छ ।

आफुले अध्यक्षता गरी संचालन हुनुपर्ने कार्यक्रममा प्रमुख अतिथि बन्नकै लागि उनले वडा नम्बर २ का अध्यक्ष दया दर्लामीलाई अध्यक्ष बनाएर कार्यक्रम संचालन हुने वातावरण मिलाएर सोही अनुसार कार्यक्रम संचालन गराएका थिए ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागु हुनुभन्दा एक दिन पहिले उनले बर्दघाट २ चिसापानीमा भाडामा संचालन भैरहेको सरकारी अस्पताललाई यसअघि कोरोना कहरका समयमा निर्माण गरिएको आईसोलेसन भवनमा स्थानान्तरण गरी भवनको हतारहतारमा उद्घाटन गरेका हुन् ।

कोरोना कहरका समयमा आईसोलेसनका लागि निर्माण भएको भवनमा पुरै संरचना निर्माण नहुँदै याे उद्घाटन गरिएको हो । आचारसंहिता लागु भएपछि उद्घाटन गर्न नमिल्ने भएकोले निर्माण कार्य सम्पन्न नहुँदै भवन उद्घाटन गरिएको हो । नगर भित्र रहेको अस्पताल आफ्नै भवनमा सर्दा भब्य समारोहको आयोजना हुनुपर्ने हो तर उद्घाटन कार्यक्रममा भने नगरका अधिकांश जनप्रतिनिधिको अनुपस्थिति देखियो । स्थानीयको उपस्थिति पनि खासै देखिएन । उद्घाटन समारोहमा राखिएको ब्यानरमा समेत आयोजक संस्थाको नाम समेत उल्लेख नगरेकाे पाइयाे ।