धमाधम पार्टी बदल्दै नेताहरू…….

63

लुम्बिनी, २६ माघ ।

  • स्वतन्त्र निर्वाचन जितेका कपिलवस्तु कृष्णानगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह कार्यकालको अन्तिम समयमा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । माघ २२ गते शनिवार उनी काँग्रेस प्रवेश गरेका हुन । 

  • एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा ‘एस’ रोजेकी अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम गत पुष १९ गते नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनी गाउँपालिका महासंघको केन्द्रीय सदस्य पनि हुन । उपाध्यक्ष गौतम अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

  • संघीय समाजवादी फोरमबाट गाउपालिका अध्यक्ष र रूपन्देही १ (क)बाट प्रदेश सांसद समेत लडेका मन्जित यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । पुष २३ गते शुक्रबार एमालेको ९औं जिल्ला अधिवेशनमा उनी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । दुबै चुनावमा उनी झिनो मतान्तरले पराजित भएका थिए ।

शाह, गौतम र यादव प्रतिनिधि पात्र मात्र हुन् । लाेकतान्त्रिक पद्दतिमा राजनीतिक दल खाेल्न र राेज्न पाउने अधिकार सुरक्षित छ । नयाँ राजनीतिक दल खाेल्न पाउनु तथा एक दल परित्याग गरि अर्काे दलमा प्रवेश गर्नु पनि कुनै नाैलाे कुरा पनि हाेइन । संविधानले संरक्षित पारेकाे यस अधिकारकाे प्रयाेग गर्नु स्वभाविक हाे । बहुदलीय व्यवस्थामा यी क्रम निरन्तर चलीरहन्छन् । नयाँ सिद्धान्त र विचार प्रतिपादन गर्दै नयाँ राजनीतिक दल खाेलेकाे देखिन्छ भने काेही काेही व्यक्तिहरू दलकाे सिद्धान्त, विचार र लक्ष्य उपयुक्त लागेर आफ्नाे राजनीतिक भविश्य सुरक्षित पार्न दल परिवर्तन गरेका हुन्छन् । यद्दपि दलभित्रकाे मनमुटाव, बैमनस्यता, गुटबन्दी तथा अपहेलनाका कारण पनि दल परिवर्तन नभएकाे पनि हाेइन तर उपर्युक्त पात्रहरू त्यसाे अवस्थाकाे नभएर आसन्न स्थानीय तहकाे निर्वाचनमा पुनः जित हात पार्ने दाउमा दल परिवर्तन गरेकाे देख्दा यिनका मतदाता आश्चर्यचकित हुनु स्वभाविकै हाे । चुनाव जितेर पदमा बहाल रहदारहदै आफु जितेकाे दल छाडेर अर्काे दलमा प्रवेश गर्नु मतदातासितकाे बेइमानी हाे ।
चुनाव नजिक आइसकेकाे बेला दल परिवर्तनकाे क्रम बढ्न थालेकाे छ । स्थानीय तहकाे निर्वाचनलाइ मध्येनजर दल परिवर्तन गर्न थालेका नेताहरू वर्तमान अवस्थामा सार्वजनिक पदमा आसिन पनि छन् । अलि पहिले नै दल परिवर्तन गर्दा पद मुक्त हुनुपर्ने जस्ता कार्वाहीकाे भागीदार हुनुपर्ने डरले सताइएका नेताहरू यसबेला धमाधम दल फेर्न थालेका छन् ।
माओवादी केन्द्रबाट रूपन्देही जिल्लामै एक्लो अध्यक्ष जितेका ओमसतिया गाउपालिका प्रमुख हिरा केवट नेकपा एमाले प्रवेश गरेको हल्ला छ । पार्टीले कारवाही गरे अध्यक्ष पद खुस्किने डरले पद जोगाउन स्थिर देखिएका केवट यसपटकको स्थानीय निर्बाचन एमालेबाटै लड्ने जोरजाममा छन् । राहुल मात्र होइन, मर्चवारी गाउपालिका अध्यक्ष केशव बनिया पनि उपाध्यक्ष सहित पार्टी परिवर्तन गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव जितेका उनीहरू अदालतको आदेशमा दल रोजेका हुन । लोसपा रोजाइमा पारेका गाउपालिका अध्यक्ष बनिया सँगै बाँकी रहेका अन्य केही वडाध्यक्षहरूले पनि चुनावमा सँगै होमिने चर्चा छ ।
रूपन्देहीको सम्मरीमाइ गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लको अवस्था पनि उस्तै छ । पार्टी अध्यक्ष प्रचण्डलाइ भेटेर माओवादी केन्द्रमा प्रवेशको कार्यक्रम तय गर्ने उनको तयारी छ । तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनाव जितेका उनी नेपाली काँग्रेस तिर ढल्किन खोज्दा ठाउँ नपाएपछि नेकपा र पछि जनमत पार्टीको सदस्यता लिएका थिए । कार्यकाल सकिएर नयाँ निर्वाचन नजिकिँदै गर्दा दल फेर्नेहरूको लर्को देखिएको छ ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र मायादेबी र सम्मरीमाइका केही जनप्रतिनिधिले पनि दल फेर्ने कसरतमा लागेको बुझिएको छ । आफू सम्बन्धित दलबाट टिकट पाउन र चुनाव जित्न कमजोर ठान्नेहरूले दल फेरेको आम आँकलन तथ्यपरक छ । मधेशवादी राजनीति गर्दै आएका कपिलबस्तु कृष्णानगरका रजत प्रताप शाहले २०७४ को स्थानीय निर्बाचनमा स्वतन्त्र चुनाव जितेका थिए । सो क्षेत्रमा उनको ब्यक्तिगत जनपकड राम्रो छ ।
कांग्रेस प्रवेश गरेपछि आगामी निर्बाचनमा जीत सुनिश्चित हुने विश्वासले उनी कांग्रेस प्रवेश गरेको अनुभवीहरूको भनाइ छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाट टिकट नपाएपछि स्वतन्त्र जितेका उनी यो बीचमा जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का बनाउन धेरै प्रयास गरेका थिए । उनले स्थान खोजेका पार्टीमा उनको स्तर नमिलैकै कारण रोकिएको सामाजिक सञ्जालमा धेरै स्थानीयले प्रष्ट देखिने गरी लेखेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्यलगायतका नेताहरूले उनकै घरमा भव्य कार्यक्रम गरेर उनलाई पार्टीमा स्वागत गरेका थिए । नगर प्रमुख शाहले नजिकिदै गरेको निर्बाचनमा छहारी बलियो बनाउन कांग्रेस पार्टी रोजेको आँकलन तथ्यपरक छ । अर्घाखाँचीको पाडिनी गाउपालिका उपाध्यक्षको आशय पनि त्यही हो । अदालतको आदेशमा नेकपा चोइटिएपछि कमजोर देखिएकी उनी शीट सुरक्षित पार्न कांग्रेस प्रबेश गरेकी हुन ।
गत निर्वाचनमा पालिका अध्यक्षसहित धेरै वडामा कांग्रेसले जित निकालेकाले पार्टी प्रबेशपछि पुन: उपाअध्यक्ष जित्ने लोभमा उनी त्यता लागेको आँकलन छ । रूपन्देही १(क)का मन्जीत यादवको सोचाइ पनि त्यही हो । गत निर्बाचनमा राम्रो मत ल्याएका उनी एमालेबाट टिकट पाए, जित्न सकिने बिश्वासले पार्टी परिवर्तन गरेको बताइएको छ । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष पदमा तत्कालिन संघीय समाजवादी फोरमबाट दोस्रो स्थानमा थिए ।
‘ओमसतिया अध्यक्ष राहुल आफूहरू सँगै रहेको भन्दै ‘उनको कार्यकाल केही समय बाँकी रहेकोले अहिलेनै प्रचार गर्दा उनी जितेको पार्टी माओवादी केन्द्रले कारबाही गर्ने डर छ’, एमाले रुपन्देहीका एक पदाधिकारीले भने, ‘राहुल जनबल भएका नेता हुन । गत निर्वाचनमा रुपन्देहीका १६ पालिकामा माओवादीबाट अध्यक्ष जितेका उनी एक्ला पात्र हुन ।’ नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट एमालेतिर ढल्किएका छन् ।
नेकपापछि एमालेतिर ढल्किएका उनी माओवादीले कारबाही गरेर अध्यक्ष हटाउने संकेत पाएपछि माओवादीमै रहेको बताएर आफ्नो पद जोगाएका थिए । अहिले उनी एमालेतिर लागेको तर आधिकारिकरूपमा प्रवेश नगरेको एमाले नेताहरू बताउँछन् । ‘अझै केही समय उहाँको कार्यकाल बाँकी छ, अहिले प्रचार गर्दा कारबाही डर छ, उहाँ हामीसँगै हुनुहुन्छ’, एमाले रुपन्देहीका एक पदाधिकारीले भने । गत निर्वाचनमा रुपन्देहीका १६ पालिकामा माओवादीबाट जित निकाल्ने उनीमात्रै थिए ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी प्रबेस गर्ने अन्तिम तयारीमा छन् । गत निर्वाचनमा फोरम (लोकतान्त्रिक)बाट चुनाव जितेपछि चार वर्षको अवधिमा अस्तित्वमा रहेका बिरलै पार्टी उनले बाँकी राखे । माओवादी केन्द्रमा पनि उनले गाउँपालिकाको टिकट सुरक्षित पार्नका लागि मात्र लागेको अनुभवीहरूको बुझाइ छ । एक नेता भन्छनः ‘माओवादी सित उनको आस्था र विचार पनि मिल्दैन ।’
राप्रपाबाट राजनीतिक यात्रा थालेका शुक्ल राजनीतिका चतुर खेलाडि हुन । फोरम लोकतान्त्रिकबाट चुनाव जितेका उनले निर्वाचनपछि एमालेमा प्रवेश गरेर तत्कालिन मुख्यमंत्री शंकार पोखरेललाइ रिझाउदै गाउपालिकामा ठूलै बजेट हात पारेका थिए । अहिलेपनि मुख्यमंत्री कुल प्रसाद केसीलाइ लोभ्याउदै उनले बजेट पारेका छन । सत्ता र सरकारका नजिक भएर काम गर्न चाहने उनका स्वार्थी इच्छालइ नेताहरूले स्वभाविक बताउछन ।
निर्बाचन नजिकिदै गर्दा राजनीतिका छेपारोहरूले रङ्ग बदल्न शुरू गरेको भन्दै मधेशी बुद्धिजीवी समाजका अध्यक्ष त्रिभुवन बरइले त्यस्तालाइ जागरूक मतदाताले पाठ सिकाउने बताएका छन् । पार्टीले पनि बिचार र सिद्धान्त नहुने स्वार्थी लोभीहरूलाइ पार्टीमा जिम्मेवारी दिन बिचार गर्नुपर्ने उनले सुझाए । उनले भने, ‘यसले राजनीतिक संस्कारलाइ गलत बाटोमा डोर्याउने निश्चित छ ।’
‘राजनीति जित्नेको मात्र हो’ राजनीतिक दलको यही गैरराजनीतिक संस्कारले देश उभोलाग्न सकेको छैन,’ जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादव भन्छनः ‘राजनीतिक दलले आस्था, बिचार, संस्कार र देशको भन्दा चुनाव कसरी जित्ने भन्नेमात्र चिन्ता लिनुबाट गलत राजनीतिक संस्कारले प्रश्रय पाउदै छ ।’
उनले भने, ‘धन बल भन्दा बिचार र आस्थाले पार्टी बन्ने हुनाले कसैले पार्टी प्रबेश गर्दैमा उनको परिक्षण बिनानै उनले टिकटको आश पनि गर्नु हुदैन र पार्टीले दिनु पनि हुदैन ।’ उनले ‘चुनावको मुखैमा आएर पार्टी प्रबेश गर्नेलाइ स्वागत त गर्नै पर्छ तर टिकटको हकदार बनाइनु हुदैन’, भने । हेराफेरीवाल ब्यक्ति र पार्टीलाइ जनताले बिश्वास नगर्ने उनले बताए ।