नवलपरासी (सुस्ता) मा नागरिकता वितरण प्रक्रियालाई अघि बढाउने उद्देश्यले गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकता सम्बन्धी विवरण सङ्कलन सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबारदेखि सुस्ता गाउँपालिका–५ का विभिन्न बस्तीमा घरदैलोमै पुगेर नागरिकता विवरण सङ्कलन थालेको हो। टोलीले प्रत्येक परिवारका सदस्यको तस्बिरसहित नेपाली नागरिक भए/नभएको, यसअघि नागरिकता लिएको भए त्यसको विवरणलगायत आवश्यक जानकारी सङ्कलन गरिरहेको छ।
पहिलो दिन वडुका टोल, थारु टोली र सैनिक पहाडी टोलमा विवरण सङ्कलन गरिएको छ भने सोमबार अन्य बस्तीमा पनि अभियानलाई निरन्तरता दिइने जनाइएको छ। स्थानीय जनप्रतिनिधिहरू समेत यस अभियानमा सहभागी छन्।
सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौँमा आन्दोलन गरेका सुस्तावासीहरू गृह मन्त्रालयसँग सहमति भएपछि गाउँ फर्किएका थिए। सोही सहमतिअनुसार नागरिकता वितरण प्रक्रिया अघि बढाउने तथा सुस्ता क्षेत्रको सीमा सुरक्षा थप सुदृढ गर्ने कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


















