चीनमा भ्रष्टाचार विरुद्धको मुद्दामा अनुसन्धान सुरु, आणविक हतियारको विशेष इकाईका दुई परे कार्यवाहीमा

54

चीनले आणविक हतियारको विशेष इकाईका दुई नेतालाई हटाई नयाँ व्यक्ति नियुक्त गरेको छ । पिपल्स लिबरेशन आर्मी (पिएलए) को रकेट फोर्स युनिटका जनरल ली याचाओ र उनका सहयोगी केही महिनादेखि बेपत्ता थिए ।   चीनले अब यी दुईको स्थानमा पूर्व उप नौसेना प्रमुख वाङ होबिन र पार्टी केन्द्रीय समिति सदस्य सुए जिसेङलाई नियुक्त गरेको छ ।

यो पछिल्लो दशकमा सैनिक नेतृत्वमा अचानक भएको सबैभन्दा ठुलो फेरबदल हो । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी भाएल मोरिसले भनिन्, ‘यो चीनले पछिल्लो दशकमा आणविक रणनीतिको सन्दर्भमा गरेको सबैभन्दा ठुलो परिवर्तन हो ।’

उनी भन्छिछन्, ‘रास्ट्रपति सी जिनपिङको पीएलएमा अभूतपूर्व नियन्त्रण छ, तर यसको मतलब उनी यसमा रोकिन्छन् भन्ने होइन । शीर्ष पदमा भ्रष्टाचारका लागि सी अहिले पनि चिन्तित छन् र पार्टीप्रति बफादारी अहिलेसम्म पूर्ण रूपमा हासिल नभएको पनि उनले सङ्केत गरेका छन् ।’

रास्ट्रपति सी चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । यो आयोग चीनको शीर्ष सैन्य कमान्ड हो ।

गत महिना भएको भेटमा चीनले पार्टी सङ्गठनका सबै तहका चुनौतीसँग जुध्न पहल गर्नुपर्नेमा जोड दिएको थियो ।

यसमा सेनामा पिएलएको पूर्ण नेतृत्व कायम राख्नु पनि समावेश छ । चीनले जनरल ली र उनका डेपुटी लिउको बारेमा टिप्पणी गरेको छैन ।

तर गत साता साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उनीहरू दुवै विरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएको उल्लेख गरिएको थियो ।

चीनले यो नयाँ नियुक्ति पीएलएको स्थापनाको ९६ औँ वर्षगाँठको एक दिन अघि गरेको हो । बेइजिङमा आयोजित एक कार्यक्रममा दुवैको नाम घोषणा गरिएको हो ।

दुवै जना अहिले लेफ्टिनेन्ट जनरलबाट जनरल बनेका छन् । यो सेवा अधिकारीहरू मध्ये उच्च पद हो । केही दिनअघि चीनका विदेशमन्त्री छिन काङलाई हटाइयो । उनी पनि लामो समयदेखि बेपत्ता थिए ।

यस्तोमा हालैका दिनमा शीर्ष पदमा बसेका मानिसको मामिलामा रास्ट्रपति सीले थुप्रै ठुला परिवर्तन गरेका छन् । रातोपाटी