बर्दघाट, २२ साउन २०८२ ।
३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पश्चिम नवलपरासीले सरावल गाउँपालिका वडा नम्बर –१, बासा चोकमा वृहत रक्तदान कार्यक्रम विहिवार सम्पन्न गरेको छ।
महासंघका जिल्ला अध्यक्ष तारा रानाले सप्ताहव्यापी कार्यक्रमहरूको सुरुवातस्वरूप सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै, उहाँले “प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP र ILO 1, 6, 9 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गर” भन्ने मूल नाराका साथ याे दिवस मनाइरहेको उल्लेख गर्नुभयाे ।
अध्यक्ष रानाले संयुक्त राष्ट्रसंघद्वारा पारित घोषणापत्र (UNDRIP) र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का कन्वेन्सनहरू विशेषतः ILO1, 6, 9 को नेपालमा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा महासंघकी अध्यक्ष रानाको अध्यक्षता तथा पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार संयोजक देवराज चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि चौधरीले आदिवासी जनजातिको मौलिक, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनको खाँचो औंल्याउँदै, प्रत्येक वर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयाे।उहाँले “प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP र ILO 1, 6, 9 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गर” भन्ने मूल नाराका साथ याे दिवस मनाइरहेकाे बताउनुभयो ।
उक्त कार्यक्रममा महासंघका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापा, थारु कल्याणकारी सभा पश्चिम नवलपरासीका अध्यक्ष मुन्द्रिका चौधरी लगायतले रक्तदानको महत्वमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएकाे थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गतको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ४० जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। रेडक्रसका जिल्ला रक्त सञ्चार संयोजक सुरज के.सी.ले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयाे ।















