सिटौला झापा-३ मा चुनाव लड्ने, सुनसरी १ मा अशोक राईलाई समर्थन गर्ने तयारी

11
बिज्ञापन

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर ३ राप्रपालाई नदिने भएको छ । त्यहाँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नै चुनाव लड्ने भएका छन् ।

सिटौलाको नाम समानुपातिकको सूचीबाट हटाइएको छ । कांग्रेस शीर्षनेताहरुले आइतबार दिनभर प्रदेश र प्रतिनिधिसभाको समानुपातिकको बन्दसूचीबारे छलफल गरेका छन् । समानुपातिकको सूची संशोधनका लागि भोलिसम्म समय छ ।

Advertisement

‘उहाँ (सिटौला)ले म चुनाव लड्छु नै भन्नुभयो र शीर्षनेताहरुले त्यसमा सहमति जनाउनुभएको छ’ प्रचार समितिका संयोजक बालकृष्ण खाँडले अनलाइनखबरलाई भने ।

कांग्रेसले झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिए ।

सुनसरी १ मा अशोकलाई समर्थन, मीन समानुपातिकमा !

कांग्रेसले सुनसरी १ मा भने संघीय समाजवादी फोरमलाई समर्थन गर्नेबारे छलफल थालेको छ ।

संघीय फोरमले वरिष्ठ नेता अशोक राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । ‘अशोक राईलाई समर्थन गर्नेबारे छलफल सुरु भएको छ’ नेता खाँडले भने ।

विश्वकर्माले चुनाव यो पटक प्रत्यक्ष चुनाव लड्न चाहेका थिए । सुनसरी १ मा राईलाई समर्थन गरे बाणिज्यमन्त्री मीन विश्वकर्मालाई समानुपातिकमा राखिनेछ । संघीय फोरमलाई त्यहाँ समर्थन गरेमा सुनसरीका बाँकी ३ क्षेत्रमा जितका लागि मद्दत पुग्ने कांग्रेसको विश्लेषण छ ।

कांग्रेसले राजपा र संघीय फोरमसँग तालमेलको प्रयास गरेको छ । तर, सहमति हुन सकेको छैन । यसबारे सोमबारबाट थप छलफल हुने कांग्रेसले जनाएको छ ।

राजपा र फोरमले कांग्रेससँग प्रदेश २ मा २४ सहित प्रतिनिधिसभाको ५५ र प्रदेशसभाको १३१ सिट मागेको छ । तर, कांग्रेसले यो दाबी आधारहीन भएको बताएको छ । अनलाइनखबरमा समाचार छ ।