हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले आगामी निर्वाचनअगावै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाङ्कन टुङ्ग्याउन माग गरेको छ ।
स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा मात्रै कार्यान्वयन भएको भन्दै जनता प्रगतिशील पार्टीले आगामी निर्वाचनअघि नै उक्त समितिको सिफारिसअनुसार प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गर्न माग गरेको हो
पार्टी अध्यक्ष त्रिपाठीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सत्तापक्षीय गठबन्धनको आगामी जेठमा स्थानीय तहको निर्वाचन गराउने प्रतिबद्धताको भने स्वागत गरेका छन् । विज्ञप्तिमा उनले, ‘संवैधानिक र कानुनी अस्पष्टता अनगिनत सङ्ख्यामा रहेको तथ्यप्रति पुनः ध्यानाकर्षण गराउन चाहन्छु,’ भनेका छन् ।
‘किस्ताबन्दीमा तत्कालीनरूपले समस्या हल गर्ने प्रवृत्तिले समस्याको समाधान दिँदैन । अपितु पन्छाउने काम मात्र गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सुतुरमुर्गे प्रवृत्ति कुनै समयमा घातक सावित हुन सक्ने प्रति सचेत गराउन चाहन्छु ।’
त्यसो नगरिए ‘निर्वाचनजस्तो कार्यमा बाधासमेत पुग्न सक्ने परिस्थिति सिर्जना हुनसक्ने तथ्यप्रति सचेत गराउन चाहन्छु,’ जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीद्वारा हास्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।






